Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौँ, ११ साउन २०८१ । सरकारले रिक्त रहेको मुख्यसचिवमा वरिष्ठतम् सचिव लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यसचिवमा गड्तौलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयसँगै नेपालको इतिहासमा गड्तौला पहिलो महिला मुख्यसचिव बनेकी छन् । मुख्यसचिव नियुक्त भएलगतै गड्तौलाले आफूले कर्मचारी प्रशासनलाई चुस्त बनाउनुका साथै सबै कर्मचारीलाई हौसला प्रदान गरेर काम गराउने बताइन् । छोटो अवधिमा कर्मचारीहरूको मनोबल बढाउँदै सरकारलाई सहयोग गर्ने उनले बताइन् । यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै गड्तौलाले कामु मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन् ।

मुख्यसचिव नियुक्तिपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्, ‘देशभरका कर्मचारी प्रशासनको नेतृत्व पहिलोपटक महिलालाई † आजको मन्त्रिपरिषद् बैठकले सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ, नवनियुक्त मुख्यसचिव गड्तौलालाई बधाई †’ अहिलेसम्म कुल २६ जना मुख्यसचिवले प्रशासनिक कमान्ड सम्हाल्दा महिला परेका थिएनन् । गड्तौलाले भने महिलाका रूपमा स्थायी सरकार भनिने निजामती कर्मचारी प्रशासनकै सर्वोच्च पद सम्हाल्ने अवसर प्राप्त गरेकी छन् ।

अख्तियारले गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गरेर गड्तौलालाई जिम्मेवारी दिएको थियो । उनी प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव थिइन् । गड्तौला वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउने सूचीमा थिइन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनलाई कामु मुख्यसचिव बनाएको थियो । उनीभन्दा अघि मुख्यसचिवको लाइनमा तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई र एकनारायण अर्याल थिए । तर, उनले बाजी मार्न सफल भइन् ।

मुख्यसचिव गड्तौलाले ५८ वर्षको उमेरहदका कारण यही १५ भदौबाट अवकाश पाउँदै छिन् । एक महिनाको छोटो अवधिका लागि सरकारले उनलाई मुख्यसचिवको जिम्मेवारी दिएको छ । सहसचिवबाट २७ कात्तिक २०७७ मा सचिवमा बढुवा भएकी गड्तौलाले ३ वर्ष १० महिना सचिवको कार्यकाल पूरा गर्नेछिन् ।

१५ भदौ २०२३ मा जन्मिएकी गड्तौलाको उमेर १५ भदौ २०८१ मा ५८ वर्ष पूरा हुने भएका कारण सचिवको पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउँदै अनिवार्य अवकाशमा जाने भएकी हुन् ।

विगत हेर्दा नेपालको प्रथम महिला सचिव चन्द्रकला किरण (२०४१ साल) पछि सेवा लम्साल पहिलो महिला परराष्ट्र सचिव (२०८० साल) बनिन् । त्यसपछि पहिलो महिला कायममुकायम मुख्यसचिव (२०८१ साल) का रूपमा गड्तौला भएकी थिइन् ।

उनी २०६३ कात्तिकमा उपसचिव र २०७० माघमा सहसचिव बनेकी थिइन् । उनी २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी ९सचिव०मा बढुवा भइन् । १० देखि ३० असार २०८१ सम्म निमित्त मुख्यसचिव र ३१ असारदेखि कायममुकायम मुख्यसचिव बनेकी गड्तौलाले नेपाल ल क्याम्पसबाट आईएल र बीएल उत्तीर्ण गरेकी छन् । काठमाडौं स्कुल अफ ल बाट ह्युमन राइट्स एन्ड जेन्डर जस्टिसमा स्नातकोत्तर गरेकी गड्तौलाले राजनीति शास्त्रमा समेत एमए गरेकी छन् ।

 

तपाईको प्रतिक्रिया