Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

बेइजिङ, ११ साउन २०८१ । चीनमा एक जना २४ वर्षीय स्ट्रिमरको निधन भएको छ । मृतक मुकबाङ स्ट्रिमर थिइन् । यसमा दर्शकको मनोरञ्जनका लागि एकै ठाउँमा बसेर ठुलो परिमाणमा खानेकुरा खाइन्छ । चाहिनेभन्दा धेरै खाना खाने र खानेकुरा खेर फाल्ने प्रवृत्तिमा अंकुश लगाउन चीनले सन् २०२० मै मुकबाङ स्ट्रिमिङमा रोक लगाएको थियो । यो नियमको उल्लंघन गर्नेहरूलाई १० हजार युआनसम्म जरिवाना लगाइने व्यवस्था छ । तर अझै पनि चीनमा मुकबाङ स्ट्रिमिङ रोकिएकोे छैन । भ्युज बटुल्नकै लागि पत्याउनै नसक्ने परिमाणमा खानेकुरा खाएर भिडियो बनाउनेहरू त्यहाँ हजारौँ छन् ।

यही महिना पान सियाओतिङ नाम गरेकी मुकबाङ स्ट्रिमरको मृत्यु भएको छ । पानको आन्द्रा नपचेका खानेकुराले भरिएको र अत्यधिक खाना खाँदा आन्द्रामा गम्भीर क्षति पुगेको पोष्टमर्टमको रिपोर्टले देखाएको थियो । पान पहिला वेटरको रूपमा काम गर्थिन् । तर मुकबाङको भिडियो स्ट्रिम गरेर मानिसहरूले टन्नै पैसा कमाएको देखेपछि उनी पनि यो पेसाप्रति आकर्षित भइन् । यो क्षेत्रमा चर्को प्रतिस्पर्धा भइकोले सुरुमा पानलाई फलोअर बनाउनै गाह्रो भयो । उनले खाने खानेकुराको मात्रा बढाउन थालेपछि फलोअर पनि बढ्न थाले । सुरुमा यसलाई पानले साइड जबको रूपमा मात्रै हेरेकी थिइन् ।

तर भ्युअर बढ्दै गएपछि यसमै करियर बनाउनतिर लागिन् र खाइरहेको जागिर छोडेर घर भाडामा लिएर मुकबाङ स्ट्रिमका लागि स्टुडियो बनाइन् । भ्युअर बढ्न थालेपछि उनले मुकबाङमा खानाको परिमाण पनि बढाउँदै लगिन् । तर यस क्रममा उनको शरीर र स्वास्थ्य बिग्रिन थाल्यो । पानको मातापिता मात्रै होइन भ्युअरले समेत उनको मुकबाङप्रति चिन्ता गर्न थालेका थिए । पान पातली त कहिले थिइनन् । तर मुकबाङ स्ट्रिमिङ गर्न थालेपछि उनको तौल बढेर ३०० केजीसम्मै पुग्यो । एक पटक त धेरै खाएपछि आन्द्राबाट रगत आएर उनी कयौँ दिनसम्म अस्पतालमा भर्ना भइन् । आफ्नो गल्तीबाट पाठ सिक्नुको सट्टा अस्पतालबाट डिस्चार्ज भएपछि पानले सबैभन्दा पहिला मुकबाङ स्ट्रिमिङ थियो ।

भ्युअरलाई टिकाइराख्न सजिलो थिएन । पछिल्लो समय त पानले झन् लगातार १० घन्टासम्म खाने वा हरेक सेसनमा १० केजी खानेकुरा खाने जस्ता अकल्पनीय काम गर्न थालिन् । तर दुःखको कुरा उनको शरीरले यो सब झेल्न सकेन ।

जुलाई १४ मा लाइभ स्ट्रिममै भएको बेलामा पानको मृत्यु भयो । अहिलेसम्म पानको मृत्युको आधिकारिक कारण सार्वजनिक गरिएको छैन । तर चिनियाँ वेबसाइट सोहुका अनुसार पोष्टमर्टमको रिपोर्टमा पानको आन्द्रा क्षतविक्षत भएको र आन्द्राभरि नपचेका खानेकुरा रहेको देखाएको भनेको थियो ।

तपाईको प्रतिक्रिया