Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौं, १० साउन २०८१ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । मौद्रिक नीतिका लागि आवश्यक तयारी सम्पन्न भएको र भोलि शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले बताए ।

अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो । गत शुक्रबार आउने चर्चा भए पनि सो दिन आएन ।

अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन् । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्य राखेको हुन्छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेका छन भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया