Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

पोखरा, ३१ असार २०८१ । रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन नहुँदो हो त विद्या भट्टराई सम्भवतः यतिबेला पनि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराइरहेकी हुन्थिन् ।

२०७५ को ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रको निधन भएपछि २०७६ को उपनिर्वाचनमा एमालेले रवीन्द्रकै धर्मपत्नी विद्यालाई टिकट दियो । भट्टराई लामो समयको शिक्षण पेसा छोडेर संसदीय राजनीतिमा होमिइन् । त्यसो त विद्या पार्टी र राजनीतिक घटनाक्रममा पुरानो अनुहार हो ।

७ कक्षामा पढ्दादेखि उनी चावहिलको मित्र माविबाट एमाले विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएकी हुन् । २०४५ मा भारतीय नाकाबन्दी विरुद्ध आन्दोलनमा सहभागी थिइन् । २०४६।०४७ को जनआन्दोलनमा पद्य कन्या क्याम्पसबाट आन्दोलनमा होमिइन् । २०४७ मा एमालेको संगठित सदस्यता लिएकी उनी २०४८ मा पोखरा एकता राष्ट्रिय सम्मेलनबाट अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य निर्वाचित भएकी थिइन् ।

विद्या २०४९ मा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार थिइन् भने २०५० मा अनेरास्ववियुको केन्द्रीय कमिटी महिला विभाग प्रमुख भइन् ।

२०५५ सम्म केन्द्रीय सचिवालय सदस्य, २०५५ मै अनेरास्ववियु केन्द्रीय कमिटी सचिव र २०५६ मा अनेमसंघको केन्द्रीय सदस्य तथा कार्यालय सचिवका रूपमा काम गरिन् । उनी २०५८ मा बुद्धिजीवी परिषद्को सदस्य भएपछि २०५९ सालदेखि पृथ्वी नारायण क्याम्पसबाट प्राध्यापन सुरु गरेकी हुन् ।

विद्याले २०६२।०६३ को आन्दोलनमा प्रगतिशील प्राध्यापक संगठन मार्फत सक्रिय सहभागिता जनाइन् । २०६२ देखि ०६४ सम्म उच्च शिक्षा पाठ्यक्रम निर्माण समितिको सदस्य, २०६४ मा एमाले उपत्यका महिला विभाग सचिव, २०६६ मा एमाले सामुदायिक क्याम्पस इलाका कमिटीको उपाध्यक्ष, २०६२ देखि ०६६ सम्म सङ्घीय मामिला विभाग र २०७० देखि ०७४ सम्म शिक्षा तथा मानव स्रोत विभाग सदस्य भएर योगदान गरिसकेकी छिन् । उनको अधिकांश समय शिक्षाको सुधारमै खर्च भएको छ ।

१७ वर्ष प्राध्यापक बनेर काम गरेपछि २०७६ मा उपप्राध्यापकबाट राजीनामा दिएर कास्की २ को उपनिर्वाचनमा उम्मेदवार बनेकी विद्या अत्यधिक मतका साथ विजयी भइन् । विद्या भट्टराई नेपालको विद्यार्थी राजनीतिमा स्थापित नाम हो । यद्यपि २०५६ सालमा रवीन्द्र अधिकारीसँग विवाह गरेपछि उनको सक्रिय राजनीतिक जीवन केही ओझेलमा प¥यो । पारिवारिक र पेसागत काममा व्यस्त भइन् ।

उनै विद्या अहिले नेपालको शिक्षा मन्त्री नियुक्त भएकी छिन् । उनी २०७९ को संसदीय निर्वाचनमा कास्की २ बाटै निर्वाचित भएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया