Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

जेबि खड्का
गौरादह, १७ असार २०८१ । भौतिक पुर्वाधार , खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा वडाबासिले प्रत्यक्ष राहत पाएको महसुस हुने गरि बिकास निर्माणका काम गर्न वडा बासिले सुझाव दिएका छन।

गौरादह नगरपालिका वडा नं.८ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा समृद्ध नगरको परिकल्पना गर्न स्थानीय सरकारले नागरिकका दैनिक जीवनमा आइपर्ने समस्याको निराकरणमा उत्तरदायी पुर्ण भुमिका निर्वाह गर्नुपर्ने स्थानीय बासिन्दाले सुझाव दिएका छन।

वडा स्तरीय सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रममा वडा नं.८ का पुर्ब वडाध्यक्ष भुमिराज पोख्रेलले वडा भित्र रहेका सडकहरु ग्राभेल भइसकेकाले सानातिना मर्मतमा बजेट बिनियोजन गरेपनि अब कालोपत्र गर्नका लागि पहल गर्न वडा स्थानीय सरकारलाई सुझाव दिनुभयो। वडा नं.८ को स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न भएको देखिएपनि स्वास्थ्य कर्मी बसेर सेवा दिन सक्ने अवस्था नरहेकाले त्यसतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराउनु भयो। स्थानीय स्याम ढकालले वडामा नसुनिने गौरादहमा रहेको एफएमलाई बजेट किन बिनियोजन गरिएको होरु भनी जिज्ञासा राख्नु भयो।

भक्त राज कोईरालाले बर्तमान परिस्थितिमा घरमा रेडियो नभएको र एफ.एम सुन्ने समय नभएको अवस्थामा त्यसतर्फ बजेट बिनियोजन नगर्न सुझाव दिदै युवाका लागि खेल मैदानको व्यवस्था गर्न अनुरोध गर्नुभयो। सार्वजनिक सुनुवाइ कार्यक्रममा बेद प्रसाद भण्डारीले जुरोपानी बजारलाई जग्गा प्राप्त भएपनि हाल सम्म सदुपयोग नभएको, जुरोपानीमा टावर अभावका कारण फोनमा समस्या भएको जानकारी गराउदै वडा नं.८ भित्र रहेका सार्वजनिक जग्गाको लगत राखि संरक्षण गर्न सुझाव दिएका थिए। प्रगति मा.बि. का प्रधानाध्यापक डिल्लीराम अधिकारीले शिक्षामा बजेट कम भएको जानकारी गराएका थिए।

चन्द्र बहादुर तामाङले बिकासका नाममा निर्माण भइरहेका सडकहरु मापदण्ड अनुसार नभएकाले निर्माण पूरा हुदानहुदा भत्कने गरेका बताएका थिए। नारायण प्रसाद गौतमले किसानहरुलाई सिचाइका लागि आवश्यक पर्ने ठाउँमा बिधुत लाइनको बिस्तार गर्न सुझाव दिएका थिए। डिल्लीराम सिवाकोटीले किसानहरूले समयमा रासायनिक मल नपाएकोमा आपत्ति प्रकट गर्दै आएको मल बिचौलियाका हातमा पुग्दा किसान मारमा परेकाले स्थानीय सरकारले खबरदारी गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रमको सभापति समेत रहेका वडा नं.८ का वडाध्यक्ष गणेश कुमार राजवंशीले आर्थिक बर्ष २०८०/०८१ मा वडाले गरेका कामको जानकारी गराउदै वडा बासिले राखेका जिज्ञासाको जवाफ दिएका थिए। वडा सचिब खेलि कुमार राईले वडा कार्यलयबाट नागरिकलाई दिइएको सेवा र संकलन भएको करका बिषयमा जानकारी गराएका थिए। वडा सदस्य हेमनसरि राजवंशीले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सदस्य होम प्रसाद ढकाल (विशाल) ले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया