Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

 कमरेड अभिवादन !
पक्कै पनि ठीकठाक, स्वस्थ र व्यस्त हुनुहुन्छ । कमरेडलाई नेपालको पूर्वी जिल्ला झापामा स्वागत छ । माओवादी केन्द्रको अस्वस्थ रोगी पार्टी संगठनको थोरै भए पनि स्वस्थ नेता कमरेड हरिबोल गजुरेल‘शीतलकुमार’ तपाईंलाई पार्टी जीवनमा थप स्वस्थ्यलाभको कामनासहित यो चिठी लेख्दैछु । कमरेडलाई भेट्न सम्भव पनि भएन र सामान्य कुराकानीको लागि कमरेडको मूल्यवान समय खर्चिनु भन्दा सार्वजनिक चिठी मार्फत खुल्ला विषय राख्नु उपयुक्त ठानें ।

कमरेडको चैत्र २, २०८० मा प्रकाशित ‘पूर्व–पश्चिमको सवालमा कहाँ चुक्यौं ?’ शीर्षकको लेख पढेपछि समयको बस्तुवादी सही विश्लेषण भन्ने लागेको थियो । अबको समाजवादी क्रान्तिको लागि मुख्य आधारइलाका नेपालको पूर्वी चेतनालाई बनाउनु पर्छ भन्ने कमरेडको विचार आजको यथार्थ पनि हो । तर विडम्बना ! समाजवाद उन्मुख संविधान निर्माणको मूल शक्ति माओवादी केन्द्रको आफ्नो आन्तरिक पार्टी जीवन भने समाजवाद उन्मुख छैन । पार्टी त विधि पद्धति बेगर सबै तहका कमिटीहरु राजतन्त्रको जस्तो छोटे राजाहरुको हुकुम प्रवाङीबाट चलेका र गणतन्त्रको खिल्लि उडाएको पाइन्छ ।

बस्तुवादी र समय सापेक्ष विचार दृष्टिकोण पस्कने कमरेड हरिबोल गजुरेल ’शीतलकुमार’ आँफै पूर्वी कोशी प्रदेशको संगठन सुदृढिकरण अभियानमा आउँनु भएको समाचार पढ्दा ज्यादै खुसी लाग्दै थियो । कमरेड पार्टी अभियानका क्रममा झापा आउनुभएको केही तस्वीरहरु सामाजिक संजालमा देखेपछि मलाई यो चिठी लेख्ने प्रेरणा मिल्यो । पार्टी सुधार्न आउनु भएको कमरेड तपाईं आफै बिग्रिएर जानुहोला जस्तो लागेको छ । अवसरवाद, व्याक्तिवाद, धनवाद, डनवाद, गुटवाद र आत्मसमर्पणवादको संक्रमणले थिलथिलो झापा पार्टीमा कमरेडको अभियान नियाल्दा खासै शुभ संकेत पाइएको छैन ।

‘पूर्व–पश्चिमको सवालमा कहाँ चुक्यौं ?’ लेखको बिटमार्दा अन्तिम वाक्यमा कमरेडले लेख्नुभएको कतै आँफै त बिर्षनु भएन ? अन्तिम वाक्य थियो– ‘र, भन्न सक्नुपर्छ यो पार्टीलाई यस्तो अवस्थामा  पुर्याउन मेरो पनि हात छ, बनाउनमा पनि मेरो हात हुन्छ ।’ कमरेडलाई यो चिठी मार्फत प्रश्न – झापा पार्टीलाई तहसनहस बनाउने कसकसको हात रहेछ ? के पहिचान गर्नुभयो ? झापाको अन्तरबिरोध के रहेछ ? पार्टी बनाउन इमान्दार प्रयत्न गर्नेहरु र पार्टीको व्यानरको चरम दुरुपयोग गर्नेहरु चिन्ने प्रयास गर्नुभयो ? अभियान सशक्त बनाउने र पार्टी उठाउने हो भने ल्याबको रिपोर्ट सार्वजनिक गरेको खाई ? ल्याबको रिपोर्ट बेगर नै रोगको उपचार गर्ने अभियान हो भने पक्कै पनि कमरेडको दुस्साहास मात्र हुनेछ ।

झापामा दुई दशक देखि निरन्तर पार्टी कब्जा गरेर बसेका मनोरोगी, जनता कार्यकर्ताबाट विश्वास गुमाइसकेका तिरस्किृतहरुलाई नै अभियानको अभियान्ता बनाएर कमरेड समाजवादी क्रान्तिका कस्ता सेना तयार गर्दैहुनुहुन्छ ? सक्नुहुन्छ भने पार्टी सदस्यसम्मले जानकारी पाउने गरी पार्टी के कस्ता कारण र कसकसको कारणले झापामा यति कमजोर भएको हो भन्ने आत्मालोचना सहितको लिखित प्रतिवेदन माग्नुहोस् र सार्वजनिक गर्नुहोस् । पुरस्कार र दण्डको व्यवस्था गर्नुहोस् ।

सबै नराम्रो गर्ने पक्कै छैनन् । राम्रो गर्नेहरुलाई पुरस्कृत गर्नुहोस् । धेरैजसो म्याद गुज्रेको औषधी जस्ता खराब छन् तिनीहरुलाई दण्डित गर्नुहोस् । त्यसपछि मात्र तपाईँको अभियानलाई पार्टी सदस्यहरुले पत्याउलान नत्र तपाईं पनि धाराटार्न र प्रचण्डको फगत आदेश पालक मात्र भएको ठहर्नेछ ।

कमरेडको लेख पढ्दा कमरेडको यो पटको जिम्मेवारी प्रचण्डको आदेश पालनामात्र भन्दा पनि आफ्नो एजेण्डा कार्यन्वयनको अवसर हो भन्ने लागेको छ । त्यसकारण कमरेडलाई पूर्वी कमाण्ड सम्हाल्दा पक्कै पनि यो पटक पाटीमा निकै ठूलो चुनौती छ । होस गर्नुहोस म्याद गुज्रेको डेट एक्सपाएर औषधी बिस समान हो । झापाली जनताको चेतनासंग हिड्न नसक्ने समाजबाट अस्विकृतहरुलाई क्रान्तिको फरक भूमिका दिनुहोस् । पार्टी सदस्य तथा जनताको बीचमा पटक पटक अयोग्य प्रमाणित भैसकेकाहरुलाई अभियानको नाममा फेरी पनि जबरजस्त नेताको पगरी लगाइदिएर योग्य घोषणा नगर्नुहोस् ।

कमरेडले बिर्सनुभएको त छैन ? माओवादी र एमालेको एकिकरण भएर बनेको नेकपाको २०७५ पुषको स्थायी कमिटीको बैठकमा कमरेड तपाईँले पेश गरेको पूरक प्रस्तावको एउटा वाक्यांश आज माओवादी केन्द्रको जीवनमा सत्य सावित भएको छ । कमरेडले बिर्सिए पनि हामी जस्ता निस्वार्थ कार्यकर्ताले बिर्सिएका छैनौँ । त्यहाँ तपाईले भन्नुभएको थियो ‘जनताको चेतना अगाडि हुने र हाम्रो चेतना पछाडि हुने खतरा बढ्दै गएको सन्दर्भलाई ख्याल गरेर नीति, योजना, कार्यक्रम, कार्यशैली र आचरण सुनिश्चित गर्नुपर्छ । ’

कमरेडको यही भनाइलाई सापटीमागेर निस्कर्षमा पुग्नेहो भने पनि भन्न सकिन्छ झापाको माओवादी केन्द्र पार्टी कब्जा गरेर बसेकाहरुको चेतना भन्दा झापाली जनताको चेतन धेरै अगाडि छ । कब्जा गर्ने र बिगार्ने गुटवाद झापबाट सिकेका माओवादी केन्द्रका केही नेता अहिले कोशीको प्रदेश पार्टी पनि कब्जा गरेर संगठन तहसनहस पार्दैछन् चिन्नुहोला । त्यसकारण कमरेड तपाईं पार्टी बनाउने अभियानमा दिलदेखि नै लाग्नुभएको हो भने सफल हुनेगरी लाग्नुहोस् शुभकामना ।

कमरेडको २०८० माघ १० गते कान्तिपुर दैनिकमा प्रकाशित लेख पनि सम्झन मन लाग्यो । त्यहाँ कमरेडले लेख्नुभएको थियो ‘आज युवा नेतृत्वलाई आकर्षित गर्न सक्ने दोस्रो प्रकारको नेतृत्व कम्युनिस्ट आन्दोलनले खोजिरहेको छ । यसका लागि फराकिलो घेराभित्र खुकुलो खालको वैचारिक फोरम निर्माण गर्न सकिन्छ । ’ कमरेड झापा पार्टीमा घातक र मुख्य रोग नै गुटबन्दी हो । मओवादी केन्द्र झापालाई जिवित पर्टी संगठन बनाउने हो भने निश्चयनै सापेक्षिक इमानदारहरूबीच नयाँ सिराबाट तपाईँले भनेझैँ फराकिलो छलफल चलाई नयाँ परिवेश खडा गर्न आवश्यक छ ।

अन्त्यमा, कमरेडले समय व्यवस्थापन गर्नसक्नुभएको खण्डमा झापाको गौरादहमा भेटहुन सक्छ । गौरादह आउँदैगर्दा कमरेडले शिर ठाडो गरेर आउन सक्नुहुन्छ । गत स्थानीय तहको चुनावमा झापाका १५ वटा पालिका मध्येमा सबैभन्दा धेरै परिणाम दिनसकेको पालिका हो गौरादह । यहाँ माओवादी केन्द्रले एकजना वडाध्यक्ष र चारजना वडा सदस्य समेत जितेको छ । प्रदेश कमिटिले यहाँको स्थानीय पर्टी सिध्याएको भएपनि सर्वहारा जनताको मनमुटुमा पार्टी जिवित नै छ । तर गौरादह आउँदा बदनाम र दर्गन्धित गौरादहको पार्टी चिथोर्ने प्रदेशका छोटेराजहरु लिएर नआउनुहोला । आजलाई यतिमै कलम बन्द गर्दछु कमरेड । बुधबार २३ जेठ २०८१ 

                                                                                                                                                                  डण्डिराज घिमिरे‘बिबेक’
                                                                                                                                                                          झापा गौरादह–२

तपाईको प्रतिक्रिया