Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

विराटनगर, २८ माघ २०८० । मोरङको बेलबारीमा सम्पन्न कोशी प्रदेशस्तरीय पाँचौं आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि झापाले जितेको छ।

बलुवाई आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित झापाले उपाधि हात पारेको हो। प्रतियोगितामा कोशी प्रदेशका ११ वटा जिल्लाको सहभागिता थियो। १० वटा जिल्लालाई पछि पार्दै उपाधि रक्षा गर्न झापा सफल भएको छ।

प्रतियोगितामा ३ स्वर्ण, २ वटा रजत र ७ कास्य पदकसहित मोरङ दोस्रो भएको छ। त्यस्तै, ३ स्वर्ण, २ रजत र २ कास्य पदकसहित सुनसरी तेस्रो भएको छ। प्रतियोगितामा महिलातर्फ ४०–४५ किलो तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजक बलुवाई आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटकी विलिशा माझी द्वितीय तथा मोरङकी प्रीया माझी र पाँचथरकी चरितमा राई तृतीय भएका छन्।

महिलातर्फ नै ४६–५० किलो तौल समूहमा सुनसरीकी एलिका विक प्रथम, झापाकी नम्रता सिगु द्वितीय तथा मोरङकी अनुष्का धिमाल र पाँचथरकी एलिसा सेलिङ तृतीय भएका छन्। ५१–५५ तौल समूहमा सुनसरीकी बिट्नी राई प्रथम, मोरङकी प्रीया राय द्वितीय र झापाकी रेसिका बराल तृतीय भएका छन्।

त्यस्तै, ५६–६० किलो तौल समूहमा भोजपुरकी सजिना तामाङ प्रथम, सुनसरीकी एलिजा राई द्वितीय, आयोजककी दीक्षा लिम्बू र पायल मगर तृतीय भएका छन्। ६१–६५ तौल समूहतर्फ झापाकी सेहना लिम्बू प्रथम, आयोजककी दीक्षा खड्का द्वितीय, मोरङकी मनिषा भुर्तेल र इलामकी नैना खातुन तृतीय भएका छन्। ६६ किलोमाथिको तौल समूहमा आयोजककी एलिजा राजवंशी प्रथम र झापाकी सुष्मा अछामी द्वितीय भएका छन्।

पुरुषतर्फ ४५–५० तौल समूहमा मोरङका प्रकाश शर्मा प्रथम, झापाका शौरव श्रेष्ठ द्वितीय, पाँचथरका मनिष राई र भोजपुरका दीपक राई तृतीय भए। ५१–५५ तौल समूहमा पाँचथरका आलोक राई प्रथम, सुनसरीका पियूष श्रेष्ठ द्वितीय तथा झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी तृतीय भएका छन्।

५६–६० तौल समूहमा झापाका प्रितम धिमाल प्रथम, इलामका दीपप्रसन राई द्वितीय, मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ तृतीय भए। ६१–६५ किलो तौल समूहमा मोरङका लक्ष्मण राजवंशी प्रथम, झापाका मनिष श्रेष्ठ द्वितीय, आयोजकका सोनुदेव पोदार र सुनसरीका आशिष मगर तृतीय भएका छन्।

६६–७० तौल समूहमा मोरङका प्रथम कार्की पहिलो, भोजपुरका सुन्दर गुरुङ दोस्रो, पाँचथरका सक्षम बराईली र सुनसरीका सुरज बराईली तृतीय भएका छन्। त्यस्तै, ७१ किलोमाथिको तौल समूहतर्फ झापाका अनमोल लिम्बू प्रथम, आयोजकका विकास ठाकुर द्वितीय, मोरङका निशान्त भुजेल र धनकुटाका युनिक राई तृतीय भए।

कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बूका अनुसार प्रतियोगिता २ दिनसम्म चलेको थियो। त्यसमा ११ जिल्लाका १ सय ६३ जना खेलाडीले सहभागिता जनाएको जानकारी उनले दिए। विजेता खेलाडीलाई कोशीका प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले पदक वितरण गरेका थिए।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद लिम्बूले सबै पक्षको साथ र सहयोगमा मात्रै तेक्वान्दो खेलको विकास हुने बताए। खेलकुदको विकास गर्न खेलाडीलाई अभ्यासका लागि बेलबारीमा कवर्ड निर्माण गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता उनले जनाए।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कार्कीले खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए। ‘अहिले पनि राज्यले प्रर्याप्त बजेट नदिँदा खेलकुद क्षेत्र खच्किएको छ,’ कार्कीले भने, ‘खेल क्षेत्र तीनै तहका सरकारको प्राथमिकतामा पर्न सकेन।’ उनले सरकारको प्राथमिकतामा नपरेका कारण खेल क्षेत्रले गति लिन नसकेको बताए। उत्कृष्ट खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा सरकारको ध्यान जान आवश्यक रहेको कार्कीको भनाइ छ।

 

तपाईको प्रतिक्रिया