बिर्तामोड, ८ माघ २०८० । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले यसवर्ष वितरण गर्ने पुरस्कारका लागि पुरस्कृत कृति तथा प्रतिभा छनौट गरेको छ । कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०८० सालमा प्रदान गरिने पुरस्कारका लागि छनौट समितिले प्रस्ताव गरेका कृति तथा व्यक्ति अनुमोदन गरेको हो ।
बैठकले २०७९ सालमा प्रकाशित कृतिहरु मध्येबाट झापा भद्रपुर निवासी साहित्यकार होम सुवेदीद्वारा लिखित ‘स्वर्गबाट बितृष्णा जागेपछि’ नामक कृतिलाई बर्षोत्कृष्ठ कृतिका रुपमा पुरस्कृत गर्ने निर्णय गरेको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए ।
त्यस्तै विष्णु चन्द्र पद्मा विशेष प्रतिभा पुरस्कारबाट पुन्यप्रसाद खरेल, धनमाया बर्षोत्कृष्ठ सक्रिय महिला पत्रकारिता पुरस्कारबाट जोस्ना श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तीनवटै पुरस्कारको राशी जनही २५/२५ हजार रहेको कोषाध्यक्ष डिल्लीराम प्रसाईले जानकारी दिए । त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई पुरस्कृत गरिने पुरस्कारबाट पदम अधिकारीलाई पुरस्कृत गरिने भएको छ । उक्त पुरस्कारको राशी ११ हजार एकसय ११ रुपैयाँ रहेको बताइएको छ ।
संस्थाले आगामी फागुन ५ गते बिर्तामोडस्थित आफ्नै सभाहलमा विशेष कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गर्ने कोषका अध्यक्ष प्रसाईले बताए । २०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले साहित्य र पत्रकारिता क्षेत्रका साथै अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।