Online Bichar
शुक्रबार, पौष १९, २०८१ | Friday, January 3, 2025

रौतहट, २० पुस २०८० । सडक विभाग र स्थानीयबीच सहमतिपछि ३ दिनदेखि अवरुद्ध चन्द्रनिगाहपुर–गौर सडकखण्डको चक्काजाम खुलेको छ। सडक विभागले शनिवारदेखि बागमती नदीमा पुल निर्माण फेरि शुरु गराउने प्रतिबद्धतासँगै गौर–चन्द्रनिगाहपुर सडकखण्डको बम नहरमा अवरुद्ध सडक शुक्रवार दिउँसो १ बजे खुलेको हो।

प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा बुधवार दिउँसो १ बजेदेखि दुर्गा भगवती, यमुनामाई, राजपुरका स्थानीयहरू गौर–चन्द्रनिगाहपुर सडकखण्डको बम नहरको बाटो अवरुद्ध गरी धर्नामा बसेका थिए।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको अध्यक्षतामा हुलाकी राजमार्ग आयोजना निर्देशनालय, सडक विभाग पुल महाशाखालगायतका सम्बद्ध सरोकारवाला निकायको प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले बागमती ९बडहर्वा० पुलको निर्माण कार्यको एक्जेस्टिङ स्ट्रक्चर भेरिफिकेशन पुस २१ मा शुरु गरेर ७ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

पुस १९ गते भएको प्रस्तावित डिजाइनअनुसारको निर्माण कार्य निर्माण व्यवसायीले अविलम्ब शुरुवात गर्ने, पुलको रिभ्युड डिजाइन ड्रइङ अविलम्ब स्वीकृतिका लागि सडक विभागमा पेश गर्ने सहमति पनि भएको छ।

गत बुधवारदेखि १५ दिनभित्र साइटमा निर्माण कार्य नभएमा तथा साइटमा मोबिलाइज नभएमा नियमानुसार ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउने ६ बुँदे निर्णय भएको सडक विभागले जनाएको छ।

शुक्रवार भएको दुईपक्षीय छलफलका क्रममा विभागको आधिकारिक निर्णयलाई जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभूषण साहले पढेर सुनाएका थिए।

 

तपाईको प्रतिक्रिया