काठमाडौं, ८ कार्तिक २०८० । एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको छ । पाँच खेलमा चौथो जितका साथ दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो स्थानमा उक्लिदै सेमिफाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ ।
जितको लागि ३ सय ८३ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४६ ओभर ४ बलमा २ सय ३३ रनमै अल आउट भयो । बंगलादेशका महमूदुल्लाह रियादले सय ११ रनको शतकीय इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् ।
दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ विकेट लिए । यसअघि मुम्बईको वानखडे रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले १ सय ७४ रनको सानदार इनिङ खेले । जारी विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३५० रन भन्दा बढी बनाएको हो ।
यसअघि श्रीलंका विरुद्ध ४२८ रन बनाएको दक्षिण अफ्रिकाले इंगल्याण्ड विरुद्ध ३९९ रनको योगफल खडा गरेको थियो । हिजोको खेलपछि विश्वकपको अंक तालिकामा ५ खेलबाट १० अंक जोडेको भारत शिर्ष स्थानमा रहँदा ८–८ अंक जोडेका दक्षिण अफ्रिका र न्युजिल्याण्ड क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।
विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र नेदरल्याण्ड्स भिड्नेछन् । यो खेल दिल्लीमा दिउसो सवा दुई बजे सुरु हुनेछ । अष्ट्रेलिया पाँच खेलमा तेस्रो जितको खोजीमा छ भने नेदरल्याण्ड्स दोस्रो जितको खोजीमा छ ।