काठमाडौँ, १६ असोज २०८० । सुक्ष्म समय पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि तीन जना वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले अमेरिकी वैज्ञानिक पिएरे अगस्टिनी, जर्मन वैज्ञानिक फेरेन्ट्स क्राउस र स्विडिस वैज्ञानिक एन लुहुलिएलाई यस वर्ष भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।
नोबेल पुरस्कार कमिटीका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रायोगिक प्रक्रिया पत्ता लगाएबापत उनीहरूलाई पुरस्कार विजेता घोषणा गरिएको हो । अटोफिजिक्स (प्रकाशरलेजर पल्स र पदार्थको छोटो समय १/१०००,०००,०००,०००,०००,००० सेकेन्डको अन्तरक्रियाको अध्ययन) मा योगदान गर्नेलाई एकेडेमीले पुरस्कार दिन लागेको हो । १ एटोसेकेन्ड भनेको एक सेकन्डको १०००,०००,०००,०००,०००,००० औँ भाग भाग हो। भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार विजेतालाई मेडल र संयुक्त रूपमा १ करोड १० लाख स्विडिस क्रोनर दिइनेछ ।
गत वर्ष ‘क्वान्टम मेकानिक्सुबारे अनुसन्धान गर्ने ३ जना वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो । गत वर्ष वैज्ञानिकहरू अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिंगरले संयुक्त रूपमा पुरस्कार पाएका हुन् । भौतिकशास्त्रतर्फ पहिलो नोबेल पुरस्कार भने सन् १९०१ मा जर्मन भौतिकशास्त्री विल्हेम रोन्टजेनलाई दिइएको थियो । उनले सन् १८९५ मा एक्स(रे पत्ता लगाएका थिए । उनको सम्मानमा परमाणु संख्या १११ भएको तत्वको नाम रेन्टगेनियमसमेत राखिएको छ ।
यस वर्ष रसायनशास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गरिनेछ ।