Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

काठमाडौं, १५ असोज २०८० । फुटबलर बिमल घर्तिमगर अष्ट्रेलियाबाट नेपाल फर्कने भएका छन् । नेपाल सुपर लिग ९एनएसएल० खेल्न बिमल स्वदेश फर्कने पक्का भएको हो ।

एनएसएलको टिम चितवन एफसीले बिमललाई स्वदेश फर्काउने पक्का गरेको हो ।
आसन्न दोस्रो संस्करणको लिगमा चितवन एफसीले बिमलसँग औपचारिक अनुबन्धनको सम्झौता गरेको छ । चितवन एफसीले सामाजिक सञ्जालमार्फत बिमललाई अनुबन्धन गरिएको जनाएको छ ।

केही दिनअघि बिमल अष्ट्रेलिया गएका थिए । उनी सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलियालाई नयाँ गन्तब्य बनाएका थिए । सोही कारण बिमलले राष्ट्रिय टिमबाट समेत आफुलाई बाहिर राख्दै एनएसएलका कुनै क्लबसँग समेत सम्झौता गरेका थिएनन् ।

उनी बाहिर जाने भएपछि ललितपुर सिटी एफसीले समेत अनन्त तामाङलाई मार्की खेलाडी घोषणा गरेको थियो ।

चितवन एफसीले आइकोनिक खेलाडीको रुपमा बिमललाई एनएसएलका लागि अनुबन्धन गरिएको प्रस्ट पारेको छ ।

विदेशमा रहेका नेपाली खेलाडीलाई आईकोनिक खेलाडीको रुपमा राख्न पाउने प्रावधान अनुसार बिमललाई अनुबन्धन गरिएको हो ।

‘खेलाडीको विकासका लागि भनेर एनएसएलमार्फत नीजि क्षेत्रले फुटबलमा लगानी गरेको छ । खेलाडीलाई स्वदेशमा फर्काएर खेल्ने वातावरण दिन सकिन्छ भन्ने सन्देश दिन समेत बिमललाई अनुबन्धन गरिएको हो ।’ एफसी चितवनका एक पदाधिकारीले भने ।

‘फुटबलबाट धेरै राम्रा खेलाडी पलायन भएका छन् । उनीहरु एनएसएलमार्फत नेपाली फुटबलमा फर्कन्छन् भन्ने आश लिएका छौं । अन्य धेरै खेलाडी आईकोनिक खेलाडीको रुपमा एनएसएलमा देख्न सकिन्छ भन्ने विश्वास छ ।’ ती पदाधिकारीले थपे ।

उमेर समूह हुँदै राष्ट्रिय टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएका बिमल केही दिन अघि अष्ट्रेलियालाई नयाँ गन्तब्य बनाएका थिए । उनले पलायनले सम्पुर्ण खेल क्षेत्रलाई स्तब्ध समेत बनाएको थियो ।

 

तपाईको प्रतिक्रिया