Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

झापा, १० साउन २०८० । देशभर डेंगु संक्रमण पुष्टी हुनेको संख्या ४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार देशको ६९ जिल्लाबाट ४ हजार २ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु प्रकोपको रुपमा देखा पर्ने गर्छ। २०१९ मा प्रकोपका रुपमा फैलिएको डेंगु संक्रमणको रेकर्डलाई तोड्दै २०२२ मा सबै भन्दा बढि ५४ हजार ७ सय ८४ जनामा डेंगु पुष्टि हुनुका साथै ८८ जनाको मृत्यु भएको थियो। नेपालमा पहिलो पटक २००४ मा १ जनामा डेंगु संक्रमण भेटिएको थियो ।

प्रदेश अन्तर्गत सबैभन्दा धेरै कोशी प्रदेशमा २ हजार ७ सय ५४ जनामा संक्रमण पुष्टी भएको छ । यस्तै, बाग्मती प्रदेशमा ६ सय ६७, गण्डकी प्रदेशमा ३ सय ४४, सुदूरपश्चिम प्रदेशमा ३ सय १६, लुम्बिनी प्रदेशमा १ सय ६६, मधेस प्रदेशमा २२ र कर्णाली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ८५ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लाबाट ३ हजार ६ सय ७१ जनामा डेङ्गु पुष्टि भएको छ ।
जिल्लाअन्तर्गत सबैभन्दा बढी सुनसरीमा २ हजार ५ सय ४२, धादिङ ४ सय १, कास्की २ सय ५, दार्चुला १ सय ९०, सङ्खुवासभा ६४, म्याग्दी ५४, कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरंगमा ३८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भदौ र असोजसम्ममा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक शुक्रबार बिहान साढे १० बजे सबै कर्मचारी सहभागी भई सरकारी तथा सार्वजनिक कार्यालय हाताभित्र र वरपर सरसफाइ अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।

चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन्। एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछाडि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने भएकोले सचेत रहन चिकित्सकको सुझाव छ।

चिकित्सकका अनुसार डेङ्गु सङ्क्रमणबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु भएकाले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने । घरपालुवा पशुपंक्षी व्यवस्थित ढङ्गले पाल्ने, घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिनु नै यसबाट बच्न सकिने उपाय हो ।

 

तपाईको प्रतिक्रिया