Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

काठमाडौँ, ९ साउन २०८० । घरेलु कामदारका रुपमा मध्यपूर्वी मुलुक जोर्डनमा कार्यरत दुई नेपाली युवतीको शव गाडिएको अवस्थामा फेला पारी उत्खनन गरी स्थानीय अदालतको आदेशमा दुवै शवको अवशेष सोमबार नेपाल पठाइएको छ ।

राजधानी अम्मानमा कार्यरत तेह्रथुम घर भएकी ३७ वर्षीया लीलामाया लिम्बू र सिन्धुपाल्चोककी २२ वर्षीया सुस्मिता तामाङको गत वर्ष असोजरकात्तिकमा निधन भएपनि तिनको शव घरफिर्ती हुन सकिरहेको थिएन । यसबारे जानकारी पाएर जोर्डनको कूटनीतिक मामला हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले ताकेता गर्दै आएको भएपनि गत वर्ष माघ ४, २०७९ मा दुवै जनाको शव गाडिएको अर्को सूचना आएको थियो ।

दुवैको मृत्युबारे स्थानीय प्रहरी कार्यालय र अदालतले दिएको कारणमा आत्महत्या भनेर खुलाइएको छ । यी दुवै जनाको शव गत वर्ष माघ ४ मा अम्मानस्थित इस्मालिक शव दफनगृहमा पुरिएको सूचना कायरो दूतावासले पाएको थियो । आत्महत्या कारण भनेपछि यसमा आवश्यक क्षतिपूर्तिको प्रक्रिया अघि बढाउन मुस्किल हुने खाडी तथा मध्यपूर्वी मुलुकहरुमा नियम रहिआएको छ । तर, अलग-अलग घरमा आत्महत्या गरेको अवस्था र घटनाको ५ महिनापछि शव गाडिएको स्थितिका बारेमा प्रहरी अनुसन्धान तथा अदालती फैसलामा पनि केही उल्लेख गरिएको छैन । दुईमध्ये लीलामायााले गत वर्ष असोज ८ (२४ सेप्टेम्बर २०२२) र कात्तिक २१(७ नवेम्भर, २०२२)मा घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।

‘बहिनी सुस्मिता जोर्डन गएको १६ महिना मात्रै भएको थियो, गत वर्ष मंसिरमा बहिनीको मृत्यु भएको थाहा पाएका थियौं,’ सुस्मिताका दाजु बन्जलाल तामाङले भने, ‘आज बहिनीको शवको अवशेष मात्रै बुझेका छौं, उताबाट पाइने क्षतीपूर्तिबारे कुनै जानकारी छैन ।’ उनका अनुसार, बहिनीलाई जोर्डन पठाउने युरोक्रस म्यानपावरले पनि अन्तिम संस्कारको खर्चका लागि १ लाख रुपैयाँ दिएको छ ।

तर, लीलामाया लिम्बूका आफन्तका अनुसार भने उनीहरुले कतैबाट केही सहयोग पाएका छैनन् । उनी भने माउन्टेन ग्रुप म्यानपावरबाट जोर्डन गएकी थिइन् । दुई छोरा र एक नाबालक छोरीलाई छाडेर लीलामाया ५ वर्षअघि जोर्डन रोजगारीमा पुगेकी थिइन् । जोर्डनमा झन्डै ३५ सय नेपाली कामदार रहेकोमा दुई हजार जति घरेलु कामदार रहेको दूतावासले जनाएको छ ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया