काठमाडौं, १५ असार २०८० । संघीय सरकारको गठबन्धन फुट्ने र जोडिने क्रियाकलापका कारण संघ सहित सबै प्रदेशमा एमाले प्रतिपक्ष बनेको छ ।
शुक्रबार कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाएसँगै सातै प्रदशेमा एमाले सत्ता बिहीन भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्री बनाउन भएको गठबन्धनको ब्याज असुल्दै ४ वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले राष्ट्रपति निर्वाचनका लागि समीकरणमा बदलाव आएसँगै सत्ता बाहिर पुगेको हो ।
संघीय सरकारको गठबन्धन परिवर्तन भएसँगै त्यसको असर सबै प्रदेशमा परेको छ । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनसँगै पुरानै गठबन्धनमा फर्किएपछि एमालेले सबै प्रदेशबाट सत्ता गुमाएको छ । गत पुस २४ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत नपाएपछि कोशी प्रदेशमा एमालेको सत्ता ढलेको छ । हिक्मत कार्की ६ महिनासम्म सत्ता लम्ब्याउन सफल भएपनि नयाँ बजेट ल्याउन नपाउँदै माओवादी र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सत्ताविमुख हुनुपर्यो ।
२०७९ पुस १० गते बनेको गठबन्धन फागुन २५ मा भएको राष्ट्रपति चुनावसम्म एमाले चौतर्फी शक्तिकेन्द्रमा थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय मोर्चामै फर्किएसँगै संकट बढेको थियो । माओवादीले गत मंसिर ४ को चुनावअघिकै गठबन्धनमा फिर्ता हुने निर्णय गरेपछि आफ्नो भाग परेको राष्ट्रपति एमालेले गुमाएर कांग्रेसको पोल्टामा परेको थियो ।
केन्द्रकै कारण एमालेले यसअघि नै लुम्बिनी प्रदेश सरकार, गण्डकी प्रदेश सरकार र सुदूरपश्चिम प्रदेश सरकार गुमाइसकेको छ । लुम्बिनीमा अहिले पुरानै गठबन्धनअनुसार नेपाली कांग्रेसका डिल्ली चौधरी र गण्डकीमा पनि कांग्रेसकै सुरेन्द्र पाण्डे मुख्यमन्त्री हुनुहुन्छ । त्यस्तै, सुदूरपश्चिममा पनि एमालेका रावलको सत्ता गुमेपछि कांग्रेसका कमल शाहले अहिले सरकारको नेतृत्व गरिरहनुभएको छ ।
यसअघि नै गत फागुन १५ गते एमाले केन्द्रीय सरकारबाट फिर्ता भएको थियो । ९ मन्त्रीसहित केन्द्रीय सरकारमा गएको एमाले दुई महिनाबीचमा संघीय संसद्को प्रतिपक्षमा पुगेको थियो । यस्तोमा लुम्बिनीबाट लीला गिरी, गण्डकीबाट खगराज अधिकारी र सुदूरपश्चिमबाट राजेन्द्र रावलले केही महिनामै मुख्यमन्त्रीबाट हात धुनुपरेको थियो । कोशी प्रदेशको सत्ता ढलेसंगै संघीय सरकारको दोस्रो ठूलो र अधिकांश प्रदेशमा बलियो पकड भए पनि एमाले अब प्रतिपक्षी बेन्चमा पुगेको छ ।ईमेजखबरबाट