Online Bichar
शनिबार, पौष ०६, २०८१ | Saturday, December 21, 2024

झापा, ३१ जेठ २०८० । झापाको मेचीनगर नगरपालिका( ९ माथिल्लो मागुरमाडीको एक घरमा न्वारानको भोज खाएका २७ जना अस्पताल भर्ना भएका छन्। सोमबार स्थानीय गोविन्द श्रेष्ठकोमा न्वारानको भोज खाएका अधिकांश स्थानीय बिरामी परेका हुन्।

मेचीनगर–९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिए।

बिरामीको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ। भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा स्थानीय बिरामी भएको हुनसक्ने अस्पतालले जनाएको छ।

स्थानीयमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। हाल अस्पतालमा २७ जनाको उपचार भइरहेको छ। बिरामीको उपचारका लागि नगरपालिकाको स्वास्थ्य शाखाले समन्वय गरिरहेको नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिए ।

गर्मी मौसमका कारण खानेकुरा लामो समय बाहिर राख्दा स्वास्थ्यमा समस्या भएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ रहेको छ।

 

तपाईको प्रतिक्रिया