Online Bichar
बिहिबार, पौष १८, २०८१ | Thursday, January 2, 2025

काठमाडौं, २५ जेठ २०८०। साफ च्याम्पियनसिप पुरुष फुटबलका लागि २३ सदस्यीय नेपाली टिमको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै १४ औं संस्करणको साफका लागि २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको टिममा डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु पहिलो पटक टिममा परेका छन् ।

साफ तयारीका लागि प्रशिक्षक एनेसले १७ जेठमा ३० जना खेलाडीलाई प्रारम्भिक रणनीतिक तयारीका लागि प्रशिक्षणमा बोलाएका थिए । जहाँबाट ७ जना बाहिरिएका छन् । ६ असारदेखि भारतको बैंगलुरुमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपाली टिम भारत, कुवेत र पाकिस्तानसम्मिलित कठिन समूहमा परेको छ ।

शहीद स्मारक ए डिभिजन लिगका कारण नेपालले राम्रो तयारी गर्न पाइरहेको छैन् । राष्ट्रिय टिमका खेलाडी रिलिज गर्न एन्फाले गरेको प्रस्ताव ए डिभिजन क्लबहरुले नमानेपछि २७ जेठमा लिग सकिएपछि मात्र राष्ट्रिय टिमले एकीकृत प्रशिक्षण गर्नेछ । नेपाली टिमले ३२ जेठमा फिलिपिन्ससँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । सोही तयारीपछि नेपाल टिम उतैबाट बैंगलुरु प्रस्थान गर्नेछ ।

समूह ए मा रहेको नेपालले ६ असारमा कुवेत, ९ असारमा आयोजक टिम भारत र १२ असारमा पाकिस्तानसँग खेल्नेछ । यसपल्ट साफ च्याम्पियनसिपमा मध्यपूर्वका लेवनान र कुवेतलाई पनि आमन्त्रण गरिएको छ । प्रतियोगिताको समूह बीमा लेवनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

 

तपाईको प्रतिक्रिया