झापा, २४ जेठ २०८० । विगत केही दिन देखि देशका अधिकांश भू-भागहरुको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । जसका कारण काठमाण्डौ उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो तातो दिन तथा लू सम्बन्धी विशेष बुलेटिन जारी गर्दै देशको तराई भू-भागमा अधिकतम तापक्रम चालीस डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको जनाएको छ ।
यस्तै, महाशाखाले आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने देखाएको छ ।
हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिएको भन्दै देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो हावा तथा लू (Heat Wave) को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन अनुरोध गरेको छ।
सम्भावित असर तथा सुझावहरू ː
तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तै ː थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।
सुझावहरू ː
तातो हावा तथा लू बाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक)पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध छ ।