Online Bichar
आइतबार, पौष ०७, २०८१ | Sunday, December 22, 2024

काठमाडौं, १ जेठ २०८० । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई कारबाही गरेको छ । २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको ट्याङ्करले इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट तोकिएको परिमाणभन्दा बढी पेट्रोल ल्याएको पाइएपछि ट्याङ्करका चालक र सहचालकलाई निगमको सम्पूर्ण डिपोमा सधैँका लागि पेट्रोलियम पदार्थ ढुवानीमा बन्देज लगाइएको हो ।

रुपन्देहीमा रहेको श्री एक्सप्रेस परिवहन सेवा प्रालिले सञ्चालनमा ल्याएको ट्याङ्करलाई तीन महिनाका लागि निलम्बन गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले पेट्रोलियम पदार्थ चोरी पैठारीमा संलग्न ट्याङ्करको ढुवानी भाडा रोक्का गर्ने र २० हजार लिटर पेट्रोलको रकम असुल गर्ने निर्णयसमेत गरेको छ ।

लु २ ख ४८३९ नम्बरको ट्याङ्करले निगमसँग सम्झौता गरी बेतलापुर–भैरहवा रुटमा पेट्रोल ढुवानी गर्ने गरेको थियो । आईओसीबाट पेट्रोल ल्याउने क्रममा भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा आईओसीबाट जारी भएको खरिद बिलमा उल्लेखित परिमाणभन्दा तीन हजार लिटरभन्दा बढी पेट्रोल ढुवानी गरेको पाइएको थियो ।

 

तपाईको प्रतिक्रिया