काठमाडौं, १७ वैशाख २०८० । प्रहरीले काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले आजै पत्रकार सम्मेलन गरी हत्या आरोपी विनोद विश्वकर्मा (बिक) लाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार आरोपीले सुनका लागि हत्या गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले विश्वकर्मालाई झापाबाट नियन्त्रणमा लिई काठमाडौंमा सार्वजनिक गरेको हो ।
प्रहरीकाअनुसार बैशाख ७ गते विनोदले लुटपाट गर्न खोज्दा निराले प्रतिकार गरेकी थिइन् । प्रतिकार गरेपछि विनोदले पसलमै भएको चक्कुले पटक–पटक हानेर निराको प्राण लिएका थिए । निरा सरस्वतीनगरमा निरु किचेन नामको भाँडा पसल चलाउँथिन । पक्राउ परेका बिक झापामा क्यासिनोमा काम गर्थे । उनलाई तीन लाख ऋण लागेको थियो । यही क्रममा उनी झापा छोडेर काठमाडौं आएका थिए । काठमाडौंमा उनी नाइट क्लबमा बाउन्सरको काम गर्थे । सोझो हिसाबले काममात्र गर्दा खर्च चलाउन र ऋण तिर्न नसकेपछि आफू लुटपाटमा लागेको बयान उनले प्रहरीमा दिएका छन् ।
त्यही क्रममा निराको पसलमा लुटपाट गर्न जाँदा प्रतिकार गरेपछि हत्या गरेको अभियुक्तले स्वीकारेका छन् । हत्यापछि उनी ६ दिनसम्म लोकन्थलीमा रहेको साथीको कोठामा बसेका थिए । ९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो । घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको र भोलिपल्ट सुनको सिक्री धरौटी राखेर ५५ हजार रुपैयाँ लगेको खुलेको छ । घटना नितान्त लुटपाटमा केन्द्रित रहेको अनुसन्धान ब्यूरोका प्रमुख किरण बज्राचार्यले बताउनुभयो ।
यसअघि चाबहिलको एक डिस्कोमा बाउन्सरको रुपमा काम गरेरका विनोदले सरस्वतीनगरको सम्पूर्ण विवरण थाहा पाएका थिए । लुटपाट गर्ने निधो गरेसँगै बस चढेर चाबहिलको केएल टावरम्म पुगेका विनोद त्यसपछि दिउँसो २ बजेतिर निरुको पसलमा छिरेका थिए । त्यसपछि उनले भाँडा किन्न हेरेको पनि पाइएको छ । २ बजेर ३३ मिनेटतिर एटीएमबाट पैसा निकाल्ने नाममा उनी त्यहाँबाट निस्केका थिए । तर, फेरि २ बजेर ४४ मिनेटमा छिरेर पछाडिबाट आक्रमण गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
विनोदले निरुकै पसलमा रहेका छुरीले हानेको प्रमाण पनि प्रहरीले बटुलेको छ । प्रहरीले साथीकोबाट घटनाका क्रममा रगत लागेको विनोदको सर्ट, जुत्ता र कपडाको पनि बरामद गरेको छ । लुटेपछि बेचिएको सुनको सिक्री तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलबाट प्रहरीले बरामद गरेको छ ।
१० दिनसम्म पनि दोषी पक्राउ पर्न नसकेपछि मिडिया र सामाजिक सञ्जालमा अनेक टिकाटिप्पणी भएका थिए । स्थानीय र परिवारका सदस्य दिनैपिच्छे प्रदर्शनमा उत्रिदा प्रहरीमा व्यापक दबाब परेको थियो । एउटा सुनको सिक्रीका लागि मान्छेको ज्यान लिनेसम्मका घटनाले सबैलाई त्रसित बनाएको छ ।ईमेजखबरबाट