Online Bichar
सोमबार, पौष १५, २०८१ | Monday, December 30, 2024

काठमाडौं, ५ वैशाख २०८० । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार कीर्तिपुरमा भएको उद्घाटन खेलमा मलेसियाले नेपाललाई २ सय ३६ रनको चुनौती दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ३५ रन बनाउन सफल भएको हो । मलेसियालाई मध्यम स्कोरमा रोक्ने क्रममा नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिएका हुन् ।

ललित राजवंशीको नाममा विकेट रहेको हो । त्यसैगरी गुलशन झाको नाममा एक विकेट रहेको हो । मलेसियाका लागि अहमद फैजले ९५ बलमा ७६ रनको सर्वाधिक स्कोर बनाएका हुन् । त्यसैगरी वीरन्दीप सिंहले ९४ बलमा ४६ रनको पारी खेलेका हुन् ।

त्यसबाहेक खिजार हायातको नाममा २२ रन र स्यार्जुल इड्रसको नाममा २१ रन रहेको थियो । नेपालले पछिल्लो ५ खेलमा मलेसियाविरुद्ध पराजय भोग्नु परेको छैन । अहिले नेपाल ब्याटिङ गरिरहेको छ । यसअघि मलेसिया र नेपाल सन् २०१८ मा एसिया कप छनोटमा भेट भएका थिए ।

त्यसबेला मलेसियालाई उसकै घरमा नेपालले १९ रनले पराजित गरेको थियो । हाल नेपालमा भइरहेको एसीसी प्रिमियर लिगमा १० देश सहभागी भएका छन् । समूह ‘ए’ मा नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएईलाई राखिएको छ ।

यि दुई समूहका शीर्ष दुई टिमबीच सेमिफाइनलमा भेट हुनेछ । फाइनलमा विजयी हुने राष्ट्र एसिया कपमा जाने छ । यो प्रतियोगिता यसै वर्ष सेप्टेम्बरमा हुने छ । समूहका शीर्ष तीनका टोली एसीसी ईमर्जिङ कपमा जाने छन् ।

 

तपाईको प्रतिक्रिया