काठमाडौँ, १३ फागुन २०७९ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि शनिबार दिउँसो १ बजेपछि उम्मेदवारी दर्ता गर्ने भएको छ । शनिबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई नेकपा माओवादी केन्द्रसहित सात राजनीतिक दलले समर्थन गर्ने सहमति जनाइसकेका छन् । प्रमुख सचेतक रमेश लेखकले कांग्रेस उम्मेदवार पौडेलले शनिबार दिउँसो १ बजेपछि संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आठ दलको साझा उम्मेदवारका रूपमा मनोनयन दर्ता गर्ने बताए ।
‘हामीले उम्मेदवारको टुंगो लगाइसक्यौँ । उहाँ नै अब आठ दलको साझा उम्मेदवार हो,’ उनले भने, ‘उम्मेदवारी दर्ताका लागि आठ वटै राजनीतिक दलका नेताहरू दिउँसो बानेश्वरमा जम्मा हुनुहुन्छ, त्यसपछि मनोनयन दर्ता हुन्छ ।’
शनिबार मनोनयन दर्तापछि २५ फागुनमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।