काठमाडौ, २१ भदौ २०७९ । निर्वाचन आयोगले आगामी चुनावका लागि १० हजार ८ सय ८८ मतदान स्थल कायम गरेको छ । स्थानीय चुनावमा १० हजार ७५६ मतदान स्थल रहेका थिए । आयोगले मतदान स्थलको पुनरावलोकन गर्दा गत स्थानीय चुनावको भन्दा आगामी चुनावमा नयाँ १ सय ३२ मतदान स्थल थप भएका छन् ।
आयोगले पुनरावलोकन गर्दा गत स्थानीय निर्वाचनका बेला निर्धारण भएका ४ सय १ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरेको छ । खुला चउर, मन्दिर तथा व्यक्तिगत जग्गामा निर्धारण गरिएका त्यस्ता मतदान स्थललाई हटाई नयाँ कायम गरिएको आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदान स्थल थपिँदा सोही अनुपातमा मतदान केन्द्रसमेत थपिने बताउनुभयो तर मतदाताको अन्तिम नामावली टुङ्गो नलागेसम्म मतदान केन्द्रको सङ्ख्या यकिन नहुने उहाँले बताउनुभयो ।
मतदाताको अन्तिम नामावली भदौ ३१ गते प्रकाशन हुनेछ । मतदाताको सङ्ख्याको आधारमा मतदान केन्द्र निर्धारण गरिन्छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधिले एक हजार मतदातामा एउटा मतदान केन्द्र निर्धारण गर्ने व्यवस्था गरेको छ तर मतदाता सङ्ख्या कम रहे पनि एउटा वडामा कम्तीमा एउटा मतदान स्थल हुनैपर्ने व्यवस्था छ ।
सहायक प्रवक्ता अर्यालले मतदाताको सङ्ख्या टुङ्गो लागेपछि सोहीबमोजिम केन्द्र निर्धारण गरिने बताउनुुभयो । सहायक प्रवक्ता अर्यालले जिल्लास्थित मतदान स्थल पुनरवलोकन समितिले गरेको सिफारिसको आधारमा मतदान स्थल तय गरिएको बताउनुभयो । आयोगले साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकनको गृहकार्य सुरु गरेको थियो ।
स्थानीय चुनावमा मन्दिरमै मतदान केन्द्र भएको, हिमाली भेगमा आठ घण्टा पैदल हिँडेर मतदान गर्न पुग्नु परेको लगायतका समस्या सार्वजनिक भएपछि आयोगले मतदान स्थलको त्रुटि सच्याउने प्रक्रिया सुरु गरेको थियो । स्थानीय चुनावमा साबिकमा गाविस भवन रहेको स्थलमा मतदान केन्द्र तोकिएको थियो ।
तर पाँच वर्षपछि भएको चुनावमा समेत आयोगले सोही मतदान स्थल र मतदान केन्द्रलाई निरन्तरता दियो । जसले गर्दा साबिकको गाविस भवन जीर्ण भई वा भत्किन गई मतदान केन्द्र पूर्वाधारविहीन बनेको थियो । मतदाताले खुला आकाशमुनि मतदान गर्नुपर्ने बाध्यता हटाउन आयोगले अन्तिम समयमा बजेट व्यवस्थापन गरी टेन्ट लगाएर मतदान केन्द्र तयार गरेको थियो ।
आयोगका अनुसार एक हजार १ सय २३ मतदान स्थलको त्रुटि सच्याइएको छ । ३ सय ६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३ सय ६४ मतदानस्थल निर्धारण गरिएको छ ।
१ सय ६३ मतदान स्थलका सबै मतदातालाई स्थानान्तरण गरी १ सय ६९ मतदान स्थल कायम गरिएको र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा स्थल गाभिएको आयोगले जनाएको छ ।