Online Bichar
बिहिबार, पौष ११, २०८१ | Thursday, December 26, 2024

काठमाडौं, २५ माघ २०७८ । आज १९ औं सुरक्षित इन्टरनेट दिवस । हरेक वर्ष फेब्रुअरी ८ तारिखलाई सुरक्षित इन्टरनेट दिवसको रुपमा मनाउने गरिएको छ ।

विश्वमा इन्टरनेटको पुहँच र प्रयोग विस्तार भएसँगै सन् २००४ बाट यो दिवस बनाउन थालिएको हो । यस वर्ष ‘टुगेदर फर बेटर इन्टरनेट’ भन्ने नारा तय गरिएको छ । पछिल्लो समय बालबालिका लक्षित गरि हुने साइबर अपराध बढ्न थालेको छ । कोरोनापछि भर्चुअल कक्षामा बालबालिका र युवाहरूको सहभागिता बढ्दो छ । इन्टरनेट के कसरी प्रयोग गर्ने भन्ने यथेष्ट जानकारी नहुँदा कतिपय बालबालिका दुरुपयोगको सिकार बनिरहेका छन् ।

दैनिक ८ भन्दा बढि यस्ता प्रकृतिका घटनाको उजुरी प्रहरीमा पुग्ने गरेको प्रहरीको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नविन्द्रराज अर्याल बताउनुहुन्छ । नक्कली फेसबुक आइडी बनाउने, आइडी ह्याक गरेर तस्वीर र डाटाहरू चोरी गर्ने, युट्युबमा भ्रामक सामग्रीहरू सम्प्रेषण गर्ने, टिकटकमा आपत्तिजनक सामग्रीहरू सेयर गर्ने घटनाहरू बढिरहेको उहाँको भनाइ छ ।

भर्चुअल माध्यमबाट कक्षा हुन थालेपछि इन्टरनेटमा बालबालिकाको उपस्थिति बाक्लिएको छ । तर, बालबालिकामा इन्टरनेटको उपयोगिता र व्यक्तिगत गोपनियताबारे जानकारी नहुँदा दुरुपयोग बढिरहेको प्रविधिका जानकार सन्तोष सिग्देल बताउनुहुन्छ ।

विद्यालयले बालबालिकाको व्यक्तिगत जानकारीलाई सुरक्षित तरिकाले राख्नुपर्नेमा उहाँको जोड छ । विद्यार्थीको गोपनियतामा विद्यालयले ध्यान दिनुपर्ने बताउँदै उहाँ विद्यालयहरूले ४० मिनेटको फ्रि जुम चलाएर बस्नु सुरक्षित नहुने बताउनुहुन्छ ।

प्रयोगकर्ता र इन्टरनेटको प्रयोगबारे पर्याप्त आफूहरूलाई नहुने इन्टरनेट सेवा प्रदायक कम्पनी बताउँछन् । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुली आफूहरूले सेवाग्राहीलाई इन्टरनेट उपलब्ध गराए पनि त्यसको प्रयोग र हेरेका विषयवस्तुको बारेमा जानकारी नहुने बताउनुहुन्छ ।

प्रविधि सम्बन्धी जानकारी र अभिभावक सचेतनाको अभावमा बालबालिका दुरुपयोगकर्ताको सिकार बनिरहेका छन् । यसका लागि अभिभावक जिम्मेदार बन्नुपर्ने प्रविधि जानकार सिग्देल बताउनुहुन्छ । इन्टरनेटमा हरेक प्रकारका विषयवस्तु आउने भएकाले बालबालिकालाई कुलतमा लाग्न नदिन निगरानी बढाउनुपर्ने उहाँको भनाइ छ ।

नेपालमै बसेर बालबालिकालाई फेसबुक वा मेसेन्जर मार्फत चिनजान र ब्ल्याकमेल गरी पैसा असुल्ने प्रवृत्ति बढ्न थालेको छ । त्यतिमात्र नभइ नाबालिगहरूलाई फकाएर व्यक्तिगत तस्वीर पठाउन लगाएर ब्ल्याकमेल गरेका घटनाहरू पनि सार्वजनिक भइरहेका छन् ।

इन्टरनेट सुरक्षित बनाउनका लागि नेपाल दुरसञ्चार प्राधिकरण आफ्नो वार्षिक कार्यक्रममा नै सुरक्षा टिम बनाएर अघि बढ्ने तयारीमा छ । जसले इन्टरनेटमार्फत हुने घटना र दुर्घटनामा कमी ल्याउन सघाउने प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्र बताउनुहुन्छ ।

इन्टरनेट दुरुपयोगबाट बालबालिकालाई बचाउन अभिभावक, सरोकारवाला निकाय र नीतिनिर्माणकर्ता सबै जागरुक हुनुपर्ने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया