Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

गौरादह, ४ मंसिर । किसानहरूले छोटो समयमा बढी मुनाफा कमाउन सकिने पेशाको खोजी गर्न थालेका छन। धान खेतीलाई मुख्य पेशा मान्दै आएका किसमनहरुले त्यसबाट मात्र खर्च धान्न समस्या भएपछि वैकल्पिक पेशाको खोजी गर्न थालेका छन।

गौरादह नगरपालिका वडा नं.७ योगीटारका किसानहरूले सामुहिक आलु खेती गर्न सुरु गरेका छन। गौरादह आई.पि.एम.कृषि सहकारी संस्थाले संचालन गरेको आई.पि.एम. कृषि प्रणाली अन्तर्गत किसानहरु आलु खेती तर्फ आकर्षित भएका हुन।

आई.पि.एम. कृषि सहकारी संस्था गौरादह ७ मा त्यस क्षेत्रका ६ वटा कृषि संजालहरु सहभागी रहेका छन । आई.पि.एम. कृषि सहकारीबाट किसानहरूले करिव ३ सय ५० के.जि. आलुको बीउ पाएपछि किसानहरुलाई आलु खेती गर्न सहज भएको हो । संस्थाले आलु खेती गर्न १५ कठ्ठा जग्गा ६ महिनाका लागि लिजमा लिएर किसानहरुलाई खेती गर्ने बाताबरण तयार गरेको संस्थाका सचिव देव कुमार उप्रेतीले जानकारी गराए।

तरकारीको राजाको रुपमा लिईने आलु खाद्य बालिको रुपमा मात्र नभइ नगदे बालिको रुपमा पनि किसानहरूले लिनथालेका छन। आई.पि.एम. कृषि प्रणाली अन्तर्गत गरिने खेतिमा रासायनिक मल र बिषादी प्रयोग नहुनुका साथै जैविक मल प्रयोग गरि उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि समेत फाईदाजनक हुने देखिन्छ । किसानहरुले पहिलो दिन १ सय ५० के.जि. आलुको बीउ रोपेका छन ।

आई.पि.एम. कृषि सहकारी संस्था गौरादह अध्यक्ष युवराज पौडेलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गौरादह नगरपालिका वडा नं.४ का वडाध्यक्ष मणिन्द्र कार्की प्रमुख अतिथि रहेका थिए। त्यसअवसरमा वडा नं.६ र ७ का वडाध्यक्षहरु खड्ग पराजुली र बलराम खरेल, वडा नं ७ वडा सदस्य यसोदा दहाल, कारितास नेपालका टंक कट्टेल लगायतले शुभकामना मन्तब्य राखेका थिए। सहकारीका उपाध्यक्ष कृष्ण बहादुर कार्कीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया