Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

अर्जुन राजवंशी

झापा, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले ‘भ्यु–टावर’ निर्माण कार्य सुरु भएको छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का लगाएर दमक नगरपालिका–३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो ।

ठेक्का चीनको जेटसीजीआईईसी र नेपालको आशिष, ओम साइराम जेभी ललितपुरले संयुक्त रूपमा पाएका छन् ।
०७६ असार २७ मा भएको ठेक्का सम्झौताअनुसार ०७८ पुस २७ मा निर्माण सक्नुपर्ने छ ।

सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनामा संघीय सरकारको सहरी विकास मन्त्रालयको मात्र लगानी रहने आयोजनाकार्यालय झापाका निमित्त प्रमुख विनोद सिंहले बताए ।

भ्यु–टावरका लागि पाँच बिघा जमिन छुट्याइएको छ । स्थानीयले १० धुरदेखि एक बिघासम्म जग्गा दमक नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् । टावरमा १८ तला (७२ मिटर) स्थायी संरचना र ७ तला (२८ मिटर) स्टिलको संरचना हुने साइट इन्जिनियर भूपेन्द्र यादवले जनाए । प्रत्येक तला ४ मिटर उचाइको हुनेछ ।

टावरमा अन्डरग्राउन्ड पार्किङ, व्यावसायिक पसल, सेमिनार हल, कमन हल, प्रदर्शनी हल, सिनेमा हल र कर्पोरेट कार्यालयहरू रहनेछन् । अन्डरग्राउन्ड पार्किङमा २ सय ४० सवारी साधन राख्न मिल्नेछ । १० कट्ठामा बन्ने टावर परिसरमा बगैंचा, पोखरी, फलैंचा, बालउद्यान र ४ सय मानिस अट्ने खुल्ला स्टेजलगायत बनाइने इन्जिनियर यादवले बताए ।

ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा टावर निर्माणको निर्णय गरिएको थियो । निर्णयलगत्तै स्थानीयले निःशुल्क जमिन उपलब्ध गराएपछि प्रधानमन्त्रीले ०७३ जेठ २८ गते शिलान्यास गरेका थिए । ठेक्का संयुक्त भए पनि अहिले ओम साइराम जेभीले मात्र काम गरिरहेको छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया