झापा, २६ कार्तिक । आजबाट झापाको चन्द्रगढी विमानस्थल १० दिनका लागि बन्द हुने भएको छ । चन्द्रगढी विमानस्थलको ‘रन वे’ स्तरोन्नति तथा विस्तारका लागि १० दिन उडान अवरुद्ध हुने भएको हो । चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरका अनुसार कम्तीमा १० दिनसम्म विमानस्थल बन्द रहने छ । मङ्गलबारदेखि लगातर १० दिन विमानस्थलमा कुनै पनि विमान उडान र अवतरण हुने छैनन् ।
दुइै महिनाअघि नै स्तरोन्नतिका काम भए पनि बीचमा पानी परेकाले रोकिएको र फेरि काम सुरु गर्न लागिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्ण चुडालले बताए। १० दिनमा निर्माण व्यवसायीले काम सक्ने प्रतिबद्धता गरेकाले यो अवधिमा सबै उडान रद्द गरिएको उनले बताएका छन् ।
दुई महिनाअघि १८ घण्टा विमानस्थल बन्द गरेर स्तरोन्नति तथा पार्किङ क्षेत्र विस्तारको काम हुँदै आएको थियो । विमानस्थलको १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण भएकाले त्यो स्तरोन्नति भएको हो ।
प्रमुख चुडालका अनुसार पर्यटन वर्ष सन् २०२० लाईसमेत लक्षित गरेर १२ वर्षपछि पहिलो पटक धावनमार्ग स्तरोन्नतिको काम भएको हो ।
गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतका लागि १० करोड २३ लाखमा ठेक्का पाएको छ । प्रमुख चुडालका अनुसार बुद्ध, यती, नेपाल वायु सेवा निगम, सौर्य, श्री एयरलाइन्स गरी १० वटा विमान कम्पनीले नियमित उडान भर्दै आएका थिए । यस विमानस्थल भएर नेपाली नागरिकमात्र नभएर भारत, भुटान, बङ्गलादेशका नागरिकसमेत काठमाडौँ आउजाउ गर्ने गरेका छन् ।