Online Bichar
बुधबार, माघ ०२, २०८१ | Wednesday, January 15, 2025

२५ कार्तिक । यस वर्ष धान उत्पादन करिब ८ प्रतिशत घट्ने अनुमान गरिएको छ । मनसुनमा ढिलाइ, धानको नक्कली बीउ, फौजी किराको प्रकोप, सिजनमा मल अभाव र सिँचाइ असुविधा लगायतको कारणले धान उत्पादन घट्ने आँकलन गरिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार वर्षे धानको कुल रोपाइँ हुने क्षेत्रफल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर हो ।

दस दिन ढिलो सुरु मनसुनले रोपाइँ १३ लाख ८ सय ३० हेक्टर मात्रै भएको छ । नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.७ टन छ । ७० हजार ८ सय ७६ हेक्टरमा रोपाइँ नहुँदा २ लाख ६२ हजार २ सय ४१ टन उत्पादनमा कमी आउने मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए ।

नेपालको धान खेती मनसुनमा आधारित छ । गत वर्ष मनसुनले साथ दिँदा उत्पादन राम्रो भएको थियो । ५६ लाख १० हजार टन धान उत्पादन भयो । उक्त परिमाणमा उत्पादन हुँदा मागको करिब ५ लाख टन अपुग थियो । अहिले रोपाइँको क्षेत्रफल घट्दा उत्पादनसँगै आयात पनि बढ्ने आकलन गरिएको छ । सरकारकै तथ्यांकअनुसार चामल खरिदमा अर्बौं रुपैयाँ बाहिरिएको छ ।

यस वर्ष उत्पादनमै कमी हुँदा आयात थप बढ्ने जानकारहरू बताउँछन् । ‘गत वर्ष चैते धानसहित १४ लाख ९१ हजार ७ सय ४४ हेक्टरमा खेती भएको थियो । चैते धान १ लाख २० हजार हेक्टरमा हुन्छ, बाँकी वर्षे धानको क्षेत्रफल हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘गत वर्षको तुलनामा रोपाइँ पनि करिब ५ प्रतिशतले घटेको छ । यसले उत्पादनमा करिब ७.८ प्रतिशत घट्ने अनुमान गरिएको छ ।’

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत हो । कृषितर्फको कुल गार्हस्थ्य उत्पादनमा धानको मात्रै १३ देखि १७ प्रतिशत योगदान रहेको रेग्मीले बताए । अर्थविद् केशव आचार्यले धानको उत्पादन घट्दा समग्र जीडीपीलाई आधा प्रतिशत विन्दुले घटाउने बताए । यसले अप्रत्यक्ष रूपमा अर्थतन्त्रमा संकुचन ल्याउने उनले बताए । यसबाट किसान मारमा पर्ने उनले बताए ।

धान बालीलाई मुख्यतः युरिया र डीएपी मल चाहिन्छ । सरकारसँग पर्याप्त मल नहुँदा किसानलाई थप मर्का परेको थियो । मौसम सक्रिय भएपछि तराईमा आएको बाढीले धानबालीमा थप क्षति पुगेको थियो । धान काट्ने बेलामा फौजी किराको प्रकोपले थप असर पुगेको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार फौजी किराले करिब २० हजार हेक्टरमा क्षति गरेको छ । गरिमा जातको हाइब्रिड बीउको नाममा नक्कली बीउ बिक्री भएपछि करिब १४ सय हेक्टर धानमा असर गरेको छ । ‘गरिमा र फौजीले मात्रै करिब ८० हजार टन उत्पादनमा कमी हुने देखिन्छ,’ मन्त्रालयका ती अधिकारीले भने ।

कृषि सचिव युवकध्यज जीसीले मनसुन ढिलाइ र फौजी किराको प्रकोपका कारण केही घट्न सक्ने बताए । यीबाहेक गरिमा धान लगाएको क्षेत्रफलमा पनि उत्पादन घट्न सक्ने अवस्था देखिएको उनको भनाई छ । ‘यस वर्ष उत्पादन बढाउने लक्ष्य थियो । तर, राम्रोसँग बढाउन सक्ने अवस्था भएन,’ सचिव जीसीले भने, ‘क्षति मूल्यांकन समिति गठन भएको छ । सबै तथ्यांक आएपछि उत्पादनबारे यकिन हुन्छ ।’

मन्त्रालयका अनुसार उपसचिवको संयोजकत्वमा ७ वटै प्रदेशमा धान उत्पादनको विवरण संकलन गर्न कमिटी गठन गरिएको छ । वरिष्ठ तथ्यांक अधिकृत रेग्मीका अनुसार ७ प्रदेशमा ७ वटा टोली खटाइनेछ । एउटा टोलीमा ३ जना कर्मचारी रहन्छन् । टोली तरार्ईमा केन्द्रित हुने रेग्मीले बताए ।

२४ अर्बको चामल आयात
भन्सार विभागको तथ्याङक अनुसार आर्थिक वर्ष ०७५/७६ मा २४ अर्ब ६३ करोड रुपैयाँको चामल आयात भएको छ । यो अघिल्लो वर्ष ०७४/७५ को तुलनामा १ अर्ब ८१ करोड रुपैयाँले बढी हो ।

आर्थिक वर्ष ०७४/७५ मा २२ अर्ब ८२ करोड रुपैयाँको चामल आयात भएको थियो । चामलको आयात निरन्तर बढ्दो छ । ०७३/७४ मा चामल खरिदमा १८ अर्ब ७७ करोड रुपैयाँ बाहिरिएको तथ्यांकमा उल्लेख छ । यस्तै चालु आर्थिक वर्षको पहिलो तीन महिनामै ३० करोड ७१ लाख रुपैयाँको आयात भएको छ । धानको उत्पादन घट्दा चामल आयातमा थप वृद्धि हुने विभागको अनुमान छ ।कान्तिपुर

तपाईको प्रतिक्रिया