काठमाडौं, २० कार्तिक । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई नेपाल सरकारले मान्य नहुने बताएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो ।
बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाललाई मान्य नहुने उल्लेख गरेकोछ । यस्तै, कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको कुरापनि विज्ञप्तिमाजनाइएको छ ।
मन्त्रालयले सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको समेत उल्लेख गरेको छ । सञ्चार माध्यमहरुमा नेपाली भूभागलाई गाभेर भारतले नयाँ नक्सा जारी गरेको विषयलाई लिएर विरोध हुँदै आएको छ ।