Online Bichar
बिहिबार, आश्विन ०३, २०८१ | Thursday, September 19, 2024

भक्तपुर,  ६  असोज  ।  शिक्षक सेवा आयोगले खोलेको लाईसेन्सको परीक्षाले आफूहरुलाई समेट्न नसक्ने भन्दै साविकको उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको प्रभावका कारण आयोगले प्राथमिक तहको मात्रै केन्द्र निर्धारण गरेको छ । परीक्षा आउन ३ दिन बाँकी रहँदा सोमबार बल्ल आयोगले केन्द्र निर्धारण गरेको हो । परीक्षाको पहिलो दिन बिहीबार हुने प्राथमिक तहको परीक्षाका लागि मात्रै भन्दै आयोगले देशका विभिन्न ५१ जिल्लामा केन्द्र निर्धारण गरेको जनाएको छ ।

आयोगले खोलेको लाईसेन्सको परीक्षामा उल्लेख विज्ञापन नम्बर ३५ ले आफूहरुलाई समेट्न नसक्ने भन्दै साविकको उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले आयोग विरुद्ध साउन २९गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

पटक पटक गरी ८ पटक पेशी तोकिएको उक्त मुद्दाको अर्को सुनुवाई मंगलबारका लागि तोकिएको छ । मंगलबार हुने सुनुवाई पछि अदालतले दिने आदेशका आधारमा निर्णय गर्ने गरी आयोगले प्राविको मात्रै केन्द्र निर्धारण गरेको श्रोतले जनाएको छ ।

लामो समय रोकिएको लाईसेन्सको परीक्षा सञ्चालन गर्ने गरी आयोगले गत असार २ गते विज्ञापन खोलेको थियो । उक्त परीक्षा असोज ९ देखि ११ सम्म सञ्चालन गर्ने आयोगले तय गरेको थियो । तर आयोगले खोलेको लाईसेन्सको विज्ञापनले आफूहरुलाई समेट्न नसक्ने भन्दै माध्यमिक विद्यालय शिक्षक यूनियनका अध्यक्ष पुष्प प्रसाद न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेस हमाल सहित ६ जना शिक्षकहरुले मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अहिले गरिएको विज्ञापन खारेज गरी विषयगत रुपमा लाईसेन्सको परीक्षा गर्नु पर्ने माग गरिएको छ ।

यस बीचमा भदौ १० मा लामो सुनुवाई भए पछि अदालतले आयोगका अधिकारी सहितको ईजलासमा छलफल गर्ने आदेश दिए अनुसार भदौ १५ गते अर्को सुनुवाई भएको थियो । साउन २२, २४, २९र ३१ गते सुनुवाई रोकिए पछि आईतबारका लागि तोकिएको पेशी पालै नआए पछि मंगलबारका लागि तोकिएको हो ।

शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाए पनि कक्षा १० मा पढाई हुने र ११ र १२ मा पढाई हुने विषयहरु नमिल्ने भए पछि यो उल्झन् आएको हो । कक्षा ११ र १२ मा झण्डै १ सय ६० विषय पढाई हुन्छ । तर आयोगले कक्षा १० कै तरिकाले सोच्दा समस्या भएको शिक्षकहरुको तर्क छ ।

यो उल्झन् नसल्टिदैं आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको थियो । जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञानका विषय उल्लेख गरी विज्ञापन गरिएको थियो । उक्त विज्ञापनले आफूहरुले पढाउँदै आएको विषयलाई समेट्न नसक्ने शिक्षकहरुको तर्क छ ।

यस अघि नै माविको लाईसेन्स भएकाले पनि परीक्षा दिनु पर्ने

यसैबीच यस अघि नै माध्यमिक तहका लागि लाईसेन्स लिएका शिक्षकहरुले पनि यो परीक्षामा सहभागिता जनाउनु पर्ने कानूनविद्हरुले राय दिएका छन् । शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा परीवर्तन गरेका कारण यस अघि नै माध्यमिक तहको लाईसेन्स भएका कारण दिनु नपर्ने भन्ने तर्क नमिल्ने उनीहरुको राय छ ।

अहिले भएकै लाईसेन्सका आधारमा कक्षा ११ १२ पढाउन सकिन्छ भन्ने तर्क मिल्दैन शिक्षकहरुको मुद्दामा बहस गर्दै आएका अधिवक्ता टीकाराम भट्टराईलाई उदृत गर्दै न्यौपानेले भने यदी पछि कसैले यसका विरुद्ध मुद्दा दायर गरिदियो भने त्यो लाईसेन्स रद्द समेत हुन सक्छ ।eduखबर

तपाईको प्रतिक्रिया