Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौँ, १५ वैशाख ।  यसवर्षको कक्षा १२ को परीक्षा आइतबारबाट सुरु भएको छ । मुलुकभरका परीक्षा केन्द्रहरुमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो । परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डले एकैपटक समय तालिका प्रकाशित गरेर कक्षा ११ र १२ को परीक्षा संचालन गरेको हो । दुवै कक्षाबाट गरी ९ लाख ३६ हजार ५ सय ४६ परीक्षार्थीले परीक्षा दिंदैछन् ।

बैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ विद्यार्थी सम्मिलित हुन लागेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । दुवै कक्षामा गरी ४ लाख ९३ हजार ५ सय ४९ जना छात्रा र ४ लाख ४२ हजार ९ सय ९७ छात्रले परीक्षा दिंदैछन् । मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी भएका हुन् ।जसमा पुरुषभन्दा महिला परीक्षार्थीको संख्या ५० हजार ५ सय ५२ ले बढि छ । ५३ प्रतिशत छात्रा र ४७ प्रतिशत छात्र परीक्षामा सहभागी भएका हुन् । गतवर्षभन्दा चाँहि यसवर्ष परीक्षार्थीको संख्या थोरै छ । गतवर्ष ९ लाख ६६ हजार २ सय १० विद्यार्थीले परीक्षा दिएका थिए ।

परीक्षामा साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्र कायम गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । सबैभन्दा बढि काठमाडौं जिल्लाका एक सय २२ परीक्षा केन्द्र र मनाङरमुस्ताङमा एक, एक वटा परीक्षा केन्द्रमा परीक्षा भईरहेको छ । मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिंदैछन् ।

आईतबारबाट सुरु कक्षा १२ को परीक्षा २६ गते सकिएपछि बैशाख २९ गतेबाट जेठ ८ गतेसम्म कक्षा ११ को परीक्षा हुनेछ। परीक्षा तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । बिहान ७ बजेबाट परीक्षा सुरु हुनेछ।

मर्यादित परीक्षा संचालनका लागि उच्च सतर्कता अपनाउन र सहयोगका लागि बोर्डले सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ । परीक्षामा एक हजार एक सय ७ केन्द्राध्यक्ष, एक हजार चार सय ८९ सहायक केन्द्राध्यक्ष, १५ हजार एक सय सात निरिक्षक, १४ सय ८९ कर्मचारी, दुई हजार दुई सय १४ कार्यालय सहयोगी र १३ हजार दुई सय ८४ सुरक्षाकर्मी खटिएका छन् । मुलुकभरका १२ बटा शाखा कार्यालय र प्रदेश कार्यालयहरुबाट परीक्षा व्यवस्थापनको काम गरिएको बोर्डले जनाएको छ । उत्तरपुस्तिका र प्रश्नपत्रहरु परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा भण्डार गरिएको छ ।

परीक्षा नियन्त्रक शर्मा हटाइए
त्यस्तै परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मालाई बोर्डले आईतबार जिम्मेवारी हटाएको छ । उनकी छोरी ललितपुरको एक विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी छिन् । परीक्षाको आचारसंहिता र मर्यादाअनुसार छोराछोरी वा नातागोताका कोहि परीक्षामा सम्मिलित हुने भए जिम्मेवारीमा बस्न पाइँदैन ।

शर्मा छोरीले परीक्षा दिने तयारी गर्दा समेत प्रश्नपत्र छपाई लगायत कार्यमा सहभागी भएको भन्दै बोर्ड भित्रै विरोध भएको थियो । परीक्षा सुरु भएकै दिन शर्मालाई हटाएर कृष्णप्रसाद घिमिरेलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको हो ।

मोबाईल प्रयोगमा कडाई
चैतमा संचालन गरिएको एसईई परीक्षामा प्रदेश २ बाट परीक्षा अगावै प्रश्नपत्र बाहिएरपछि कक्षा ११ र १२ को परीक्षामा मोबाईल फोनको प्रयोग र सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र बोर्ड छुट्टाछुट्टै निर्देशन जारी गरेर मोबाईल फोन र परीक्षाको गोपनियतामा कडाइ गर्न सर्कुलर गरेका थिए ।

मन्त्री पोखरेलले २२ बुँदे निर्देशन जारी गरेका हुन् । जसमा परीक्षा हलभित्र केन्द्राध्यक्ष बाहेक अरुलाई मोबाईल फोन प्रयोग गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ । सहायक केन्द्राध्यक्ष, निरिक्षक र कर्मचारीहरुको मोबाइल फोन परीक्षा अवधिभर केन्द्राध्यक्षको नियन्त्रणमा राख्नुपर्ने निर्देशनमा उल्लेख छ ।

त्यस्तै परीक्षा हलमा भिडियो, तस्बीर र अडियो रेडर्क रोक्नपनि प्रतिबन्ध लगाइएको छ । एसर्ईई परीक्षामा सिराहा जिल्लाको कल्याणपुर इलाका प्रहरी कार्यालयका दुई प्रहरी जवानले मोबाइलबाट तस्बीर खिचेर प्रश्नपत्र आउट गराएका थिए । सामाजिक संजाल मार्फत परीक्षाको अघिल्लो दिनमै विज्ञान र सामाजिक विषयको परीक्षा भाइरल भएपछि परीक्षा रद्ध र स्थगित गरिएको थियो ।

यसपटक प्रहरी कार्यालयको प्रश्नपत्र भण्डार कक्षमा समेत प्रहरी र केन्द्राध्यक्षलाई मोबाइल फोन लैजान निषेध गरिएको हो । प्रहरी चौकीबाट प्रश्नपत्र बुझ्दा अनिवार्य रुपमा मुचुल्का गर्न निर्देशन दिइएको छ । परीक्षाको दिन केन्द्रमा प्रश्नपक्रको सिलबन्दी थैलो खोल्दा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षक गरी कम्तिमा ३ जनाको रोबहरमा मुचुल्का गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै बोर्डले अनुगमनमा खटिएका बाहेक अन्य व्यत्तिलाई परीक्षा केन्द्रमा प्रवेश निषेध गर्न सर्कुलर गरेको छ । परीक्षा सुरु हुनुभन्दा दुई दिन अघिबाट परीक्षा अवधिभर केन्द्रमा बोर्डका उपनियन्त्रकको नेतृत्वमा सुरक्षाकर्मीहरु सहितको कन्ट्रोल रुम स्थापना गरिएको छ ।

‘परीक्षा संचालन अवधिभर जिल्ला परीक्षा समन्वय समिति, केन्द्रध्यक्ष, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, प्रदेश शिक्षा निर्देशनालय र राष्ट्रिय परीक्षा बोर्डका जिम्मेवार अधिकारी बाहेकलाई परीक्षा केन्द्रमा मोवाइल फोन लैजान पूर्णतः निषेध गरिएको छ,’ बोर्डले गरेको सर्कुलरमा भनिएको छ ।

परीक्षार्थीले परीक्षा हलमा स्मार्ट घडी लगायत इलेक्ट्रोनिक डिभाइसहरु समेत लैजान पाउने छैनन् । परीक्षा हलमा मोबाइल फोन लगेको भेटिए जफत गरी सुरक्षा निकायको जिम्मा लगाउने व्यवस्था गरिएको हो । निर्देशन र मर्यादा पालना नगरेमा जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई परिवर्तन गर्न सक्ने अधिकार दिइएको छ । यस्तो कार्य गर्ने परीक्षा केन्द्र खारेज गर्न सिफारिस गर्ने अधिकार समितिलाई दिइएको छ ।

तपाईको प्रतिक्रिया