Online Bichar
मंगलबार, माघ १५, २०८१ | Tuesday, January 28, 2025

झापा, १२ माघ २०८१ । ‘नो केवलकार समूह’ र प्रहरीबीच पाथीभरा क्षेत्रमा शनिबार झडप हुँदा ४ जना घाइते भएका छन् ।

काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि रहेको बलुडाँडामा दुई पक्षबीच झडप भएको हो । झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै आन्दोलनरत पक्षका एक जनालाई प्रहरीको गोली लागेको आन्दोलनकारीले दाबी गरेका छन् ।

आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचनापछि प्रहरी टोली खोजतलासमा गएको र त्यही बेला आन्दोलनकारीले माथिबाट ढुंगा बर्साएर प्रहरीमाथि आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जनाए । उनले आन्दोलनकारीबाट तीनवटा खुकुरी, गुलेलीलगायतका सामान बरामद गरेको पनि जानकारी दिए ।

‘माथिल्लो फेदी क्षेत्रमा बसेर उनीहरूले गलत हर्कत गरिरहेको सूचनाका आधारमा हाम्रो ९एपीएफ० र नेपाल प्रहरीको टोली अध्ययनका लागि गएको थियो,’ सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश महर्जनले भने, ‘उनीहरूले माथिबाट आक्रमण गरेपछि हाम्रो टोलीले अश्रुग्यास हानेको हो ।’

सशस्त्रले गोली हानेको र विशाल श्रेङको कपडा र थोरै छाला छेडेर गएको आन्दोलनरत पक्षका श्री लिङ्खिमले दाबी गरे । ‘हामी भोलिदेखि गर्ने शान्तिपूर्ण आन्दोलनको प्लेकार्ड बनाउने लगायतका तयारी गरिरहेका थियौं, त्यही बेला आएको प्रहरी टोलीले प्लेकार्ड च्यात्ने, गाउँबाट आएकालाई लात्ताले हान्ने जस्ता हर्कत गरेपछि आमनेसामने भएको हो,’ श्रीले भने । अपरान्ह करिव ४ बजे प्रहरीले बल प्रयोग गर्दा केन्द्रसिंह फुरुम्बो , जितबहादुर केदेम, दिपेश मादेन, जिवन वनेम, शसिहाङ पोमु , लक लिम्बु, राजन लिम्बुलगायतमाथि कुटपिट भएको जनाइएको छ ।

मुक्कुमलुङ संघर्ष समिति, केवलकार खारेजी संघर्ष समितिलगायतले पाथीभरामा बन्ने केवलकारको विरोध गरिरहेका छन् भने पाथीभरा माता केवलकार कम्पनीले निर्माणका लागि जमिन सम्याउने लगायतको काम गरिरहेको छ । मंगलबार जमिन सम्याउन थालेको सूचना प्रवाह भएपछि आन्दोलनकारी पाथीभरा क्षेत्रमा केन्द्रित भएका छन् । उनीहरूले तीन सयभन्दा बढी भेला भएको दाबी गरेका छन् ।

केवलकार निर्माणको जिम्मा पाएको हिमालयन कन्ट्रक्सनका इन्द्र केदेमले १५ महिनाभित्र सक्ने गरी काम सुरु गरेको जनाएपछि निर्माण रोकेर नफर्किए हडताल लगायतका आन्दोलनमा उत्रने चेतावनी आन्दोलनरत समूहले विज्ञप्तिमार्फत दिएको थियो । शनिबार बेलुका ५ बजेपछिको अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ । आन्दोलनत पक्षले भने आन्दोलनका कार्यक्रम सुरु भएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया