Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

झापा, ९ माघ २०८१ । घरेलु कामदारको रुपमा राखिएकी नाबालिकालाई बलात्कार गरेको आरोपमा अदालतले पुर्पक्षको लागि थुनामा पठाएपनि एक महिनादेखि अस्पतालको भीआईपी कक्षमै रहेका पूर्वमेयर ध्रुवकुमार सिवाकोटीको परिवारबाट पीडित असुरक्षित बनेका छन् ।

सिवाकोटी परिवारबाट प्रलोभनसंगै धम्की दिने काम भएपछि पीडित नाबालिका र उनको परिवार असुरक्षित बनेका हुन् । सिवाकोटी परिवारले एक कठ्ठा जग्गा , एउटा सानो घर , २०–२२ लाख रुपैयाँ बैंक डिपोजिट गरिदिने प्रलोभन देखाएका हुन् । त्योसंगै ती नाबालिकालाई अमेरिका लगिदिने प्रलोभनसमेत उनीहरुले देखाएका छन् ।

पीडित नाबालिकाका एकजना आफन्तले आफूहरुलाई विभिन्न प्रलोभन देखाएर मिलाउन खोजेको बताइन् । उनले भनिन्, ‘ जे भयो गलत भयो , गल्ती गरेकै हो, कानुनले कार्वाही गरिहाल्छ , सजिलो बनाऔं ,जेल जानु नपरोस् भनेर मेचीनगरको पालियामा रहेको एक कठ्ठा जग्गा , एउटा सानो घर , २०–२२ लाख रुपैयाँ बैंक डिपोजिट गरिदिन्छौं भनेर फकाउन खोजेका छन् । ’ नाबालिकाको भविष्य बनाउने हो भने पछि अमेरिका लगिदिने प्रलोभनसमेत देखाएको उनले बताइन् ।

कानुनमा पुगिसकेकाले कानुन उल्लंघन गरेर त्यस्तो प्रलोभनमा नपर्ने आफूले स्पष्ट जवाफ फर्काएको उनले सुनाइन् । सिवाकोटी परिवारले ‘ती नाबालिकालाई कहाँ राखेको छ हामी भेट्छौ ’भनेर ठेगाना र सम्पर्क नम्बर मागेको उनले बताइन् । मुद्धा नमिलाएको खण्डमा परिस्थिति जे पनि हुनसक्छ भनेर सिवाकोटी परिवारले धम्कीसमेत दिएको उनको भनाई छ । पीडित परिवारलाई फकाउन सिवाकोटीका छोरीहरु ५–६ केजी फलफूल लिएर गएका थिए । आफूहरुले ती फलफूल नखाएर सिटीरिक्सामा हालेर बाल आश्रममा पठाइदिएको ती आफन्तले बताइन् । एमालेका एकजना पूर्व सांसदले समेत फोन गरेर सो मुद्धा मिलाउन दबाब दिएको उनको भनाई छ ।

आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पूर्वमेयर सिवाकोटी डेढ महिनादेखि बीएण्डसी अस्पतालमै छन् । गत पुष २२ गते जिल्ला अदालत झापाले उनलाई पुर्पक्षका लागि झापा कारागार चलान गरेको थियो । तर, नेकपा एमालेका नेतासमेत रहेका पूर्वमेयर सिवाकोटी एक दिन पनि कारागार बसेका छैनन् । उनी अनुसन्धानका क्रममा पक्राउ परेपछि पनि हिरासतमा बसेका थिएनन् । मंसिर २४ गते पक्राउ परेको दिनदेखि नै उनी बिर्तामोडस्थित बीएण्डसी अस्पतालको भीआईपी क्याबिनमा बसिरहेका छन् ।

पुर्पक्षका लागि कारागार चलान भएका सिवाकोटी शक्तिको आडमा अस्पतालमै बसेपछि झापा कारागार प्रशासनलाई अप्ठेरो परेको छ । कारागार प्रमुख रेवन्त भट्टराईले प्रायः दिनहुँ बीएण्डसी अस्पताल धाएपनि सिवाकोटी कारागार जान नचाहेको कारागार स्रोतले जनाएको छ । सिवाकोटी विभिन्न बहाना बनाएर अस्पतालमै बसेपछि प्रहरी प्रशासन पनि समस्यामा परेको छ ।

२०७४ सालमा बुवाआमाको मृत्यु भएपछि सहाराविहीन भएकी नाबालिकालाई उनकी हजुरआमाले सिवाकोटीको घरमा राखेकी थिइन् । नातिनीको लागि सहयोग माग्दै उनकी हजुरआमा २०७४ मा नगरपालिका पुग्दा भर्खरै मेयरमा निर्वाचित भएका सिवाकोटीले आफ्नै घरमा राखेर पढाउने भन्दै जिम्मा लिएका थिए ।

उनले सिवाकोटीलाई बुवा भनेर सम्बोधन गर्दै आएकी थिइन् । तर, बालिकालाई सिवाकोटीले पटक–पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । कक्षा ६ मा पढ्दादेखि नै सिवाकोटीले पटक–पटक बलात्कार गरेको पीडितले बयान दिएकी छन् । सिवाकोटीकी श्रीमती विदेश गएको बेला बलात्कार गरेको र कसैलाई सुनाएमा घरबाट निकालिदिने धम्की दिएको पीडितको भनाइ छ । ती पीडितले सिवाकोटीकी श्रीमती र छोरीहरुलाई आफूमाथि भएको कुकर्मका बारेमा बताउँदा उनीहरुले समेत हल्ला नगर्नु भनेर चुप लाग्न बाध्य बनाएको ती आफन्तले बताइन्

पटक–पटक बलात्कारमा परेपछि पीडित बालिका गत मंंसिर २४ गते बिहान कलेज जान्छु भनेर सिवाकोटीको घरबाट निस्किएर भारत जान हिँडेकी थिइन् । उनलाई काँकडभिट्टाबाट आफन्त नेपाल नामक संस्थाले उद्धार गरेको थियो । त्यसपछि सोधीखोजी गर्दा बलात्कारको पीडा सहन नसकेर उनी भारत जान खोजेको खुलेको थियो ।

 

तपाईको प्रतिक्रिया