Online Bichar
बुधबार, माघ ०९, २०८१ | Wednesday, January 22, 2025

९ माघ २०८१ । सरकारले देशभरका करिब १७ लाख किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने भएको छ । आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउन लागेको हो । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको शिक्षा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा १६ लाख ८८ हजार ७६८ किशोरीहरूलाई एचपीभी खोप दिन लागिएको जनाएको हो । कार्यक्रममा टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डाक्टर अभियान गौतमले महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको बताए । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू र मृत्यु हुने संख्या न्यून आय भएका र मध्यम आय भएका देशहरूमा देखिएको उनको भनाइ छ ।

विश्वभर हरेक वर्ष तीन लाख ११ हजार महिला महिलाको मृत्यु क्यान्सरका कारण हुने गरेको अनुमान छ । सन् २०३० सम्म त्यो संख्या चार लाख पुग्ने अनुमान गरिएको छ । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको डाक्टर गौतमले बताए । हरेक वर्ष एक हजार ३१३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको र औसतमा प्रत्येक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्यूमन प्यापिलोमा भाइरस (एचपीभी) बाट सङ्क्रमण हुने गरेको उनको भनाइ छ । यो भाइरसबाट सङ्क्रमित व्यक्तिसँग यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने उनले बताए । एचपीभी भाइरसबाट पटक पटक सङ्क्रमण भएर २० वर्षसम्म यो सङ्क्रमण रहेको खण्डमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने उनको भनाइ छ ।

पाठेघरको मुखको क्यान्सर रोकथामको पहिलो उपाय नै एचपीभी खोप दिनु रहेको बताए । त्यो खोप जति सानो उमेरमा दिन सकियो त्यति बढी प्रभावकारी हुने उनको भनाइ छ । त्यसैले सरकारले यो वर्ष विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई खोप दिन लागिएको बताए । लामो समयदेखिको तयारीपछि विद्यालयमै पुगेर किशोरीहरूलाई खोप दिन लागिएको बताए । त्यसका लागि देशभरका १९ हजार ८०० विद्यालयमा खोप दिन लागिएको बताए । यो खोप सरकारले निःशुल्क रूपमा दिन लागेको बताए । त्यसका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा १७ लाख ७० हजार ४०० मात्रा खोप नेपाल आइपुगेको छ ।

क्यान्सरको रोकथामका लागि दोस्रो तहको उपायमा हरेक महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गराउने र तृतीय तहको उपायमा पाठेघरको मुखको क्यान्सरको निदान भएका महिलाहरूको उपचार गर्ने रहेको उनको भनाइ छ । नेपाल सरकारले पाठेघरको मुखको क्यान्सर रोगको निवारणका लागि कम्तीमा ९० प्रतिशत १० देखि १४ वर्ष उमेर भित्रका किशोरीलाई एचपीभी खोप दिने लक्ष्य लिएको छ । त्यस्तै ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण (स्क्रिनिङ) गर्ने र ९० प्रतिशत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा तीन वटा स्वास्थ्य सेवा निश्चित गन्तव्य निर्धारण गरेको छ । जसमा नेपाल सरकारले तीनवटै सेवाको कभरेज कम्तीमा ९० प्रतिशत हासिल गर्ने लक्ष्य लिएको उनको भनाइ छ । हाल विश्वका १९४ देशमध्ये १४५ देशले उक्त खोप दिँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया