Online Bichar
मंगलबार, माघ ०८, २०८१ | Tuesday, January 21, 2025

काठमाडौं, ७ माघ २०८१ । नक्कली शैक्षिक प्रमाणपत्रमा १४ वर्षदेखि अध्यापन गराउँदै आएका एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–९ का ४८ वर्षीय विकास श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले विगत १४ वर्षदेखि काभ्रेकै बनेपा नगरपालिका–६ बुडोलमा रहेको काभ्रे उच्च माविमा अध्यापन गराउँदै आएको खुलेको छ ।

उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मीन भवन कमर्स क्याम्पसबाट स्नातकोत्तर उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र बनाएको आरोप छ ।

त्यसैगरी स्नातक तह र प्लस टुको पनि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उनले अध्यापन गराउँदै आएको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।

‘प्लस टुदेखि स्नातकोत्तरसम्मको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि पक्राउ गरेर उनीविरुद्ध अनुसन्धान अघि बढाएका छौं,’ जिसीले भने ।

श्रेष्ठ काभ्रे उच्च माविमा विगत २०६७ सालदेखि अध्यापन गराउँदै आएका थिए । निमाविबाट अस्थायी दरबन्दीमा अध्यापन गराउँदै आएका उनी पछिल्लो समय प्लस टुसम्म अध्यापन गराउने गरेको पाइएको छ ।

उनले नक्कली शैक्षिक प्रमाणकै आधारमा लाइसेन्स परीक्षा समेत दिएर अध्यापन अनुमति पत्र लिएको समेत भेटिएको छ । श्रेष्ठका शैक्षिक प्रमाणपत्रहरू त्रिविमार्फत भेरिफाइ गर्दा रेकर्डमा नभेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठले करिब १० वर्षअघि ३० हजार रुपैयाँमा शैक्षिक प्रमाणपत्र बनाएको प्रहरी समक्ष बताएका छन् । उनीविरुद्ध सरकारी कागजात कीर्तेको कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया