झापा, ६ माघ २०८१ । पूर्व मुख्यमन्त्री तथा कांग्रेसको कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण गर्नेहरुलाई मुद्धा दायर गरिएको छ ।
आक्रमणमा संलग्न नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरु शिवसताक्षी-११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई-३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठमाथि अभद्र व्यवहार गरेको कसूरमा आज मुद्धा दायर गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । अदालतसंग ३ दिनको म्याद लिएर अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएको डीएसपी विष्टले जानकारी दिए ।
पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता थापामाथि हिजो साँझ कुटपिट भएको हो । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा साँझ करिव ७ बजे कन्काई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक उनीमाथि कुटपिट भएको हो । बा १ झ ६५३ नं को गाडीमा घर फर्किदै गरेका अर्जुनधारा-७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरुले कुटपिट गरेका थिए । कुटपिटबाट थापा घाइते भएका थिए । उनको देब्रे आँखा सुन्निएको थियो । उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो ।
विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले सुरुङ्गा पुलनजिक डाइभर्सनमा ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ । प्राधिकरणको गाडी र पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।