झापा, ३ माघ २०८१ । झापाको सदरमुकाम भद्रपुरमा नविनतम कृषि प्रविधि प्रदर्शनी कार्यक्रम अन्तरगत मकैमा शून्य खनजोत खेतीको सुरुवात गरिएको छ । लागतमा कमि र बाँझो जमिनलाई उपयोग गराउने उदेश्य राखेर भद्रपुर कृषि विकास शाखाले मकैमा शून्य खनजोत खेतीको प्रदर्शनी गर्दै कार्यक्रमको सुरुवात गरेको हो ।
शाखाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार पहिलो बर्ष भद्रपुर –४ स्थित रंगिलाचोक छेऊको करिब ६ विगाहा जमिनमा शून्य खनजोत मैक खेतीको सुरुवात गरिएको शाखाका कर्मचारी सुमिन बिमली जानकारी दिए ।
अनुदानमा कृषि शाखाले ११० केजी मकैंको बिउ, ७ बोरा डिएपी, ७ बोरा युरिया, ४ बोरा पोटास मल र मकैं रोप्ने मेसिन कृषकलाई उपल्बध गराएको थियो ।
यस भन्दा अघि नगरमा कृषि ज्ञान केन्द्रले शून्य खनजोतमा मकैं खेती लगाएको थियो । यस पटक एकै ठाउँमा भएको ६ विगाहा जमिनमा शून्य खनजोतमा मकैं खेती जिल्लामै नभएको उनको भनाई छ । ‘कृषकले उपल्बध गराएको तीन प्रकारको जमिनमा यो खेती लगाइन्छ,’ उनले भने, ‘चौरीमा, पहिलो जोताई गरिएको जमिन र बाँझो जमिनमा मेसिनबाट मकैं रोपिन्छ ।’
यता प्रदर्शनी कार्यक्रममा बोल्दै नगर प्रमुख गणेश पोखरेलले आधुनिक कृषि प्रणालीसँग जोडेर अघि बढेमात्र कृषकलाई उत्पादनमा फाइदा पुग्ने बताए ।
प्रविधिमैत्री कृषिले लागतमा कमि हुनुका साथै उत्पादन पनि बढाउँछ । नगरपालिकाले यसअघि धान पकेट क्षेत्रलाई प्रविधिसँग जोडिएको थियो । यस बर्षदेखि मकैं खेतीलाई पनि प्रविधिसँग जोडिएर अघि बढेको नगर प्रमुख पोखरेलको भनाई छ ।
त्यस्तै कृषि अनुसंन्धान निर्देशनालय तरहरा सुनसरीका वरिष्ठ इन्जिनियर सानसद अन्सारीले शून्य खनजोत मकैं खेतीमा प्रयोग गरिने उपकरणको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । उनका अनुसार मकैं रोप्ने मेसिनमा बिउ र मलखाद एकैपटक हालिन्छ । मेसिनले माटो खन्दै मकैंको बिउ रोप्दै, मलखाद पनि सँगै हाल्छ । यसले जनशक्ति र उत्पादन लागतमा कमि आउने उनको भनाई छ ।