Online Bichar
मंगलबार, पौष २३, २०८१ | Tuesday, January 7, 2025

देइर अल–बलाह (गाजा पट्टी), १९ पुष २०८१ । इजरायली आक्रमणमा बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म गाजामा बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको अस्पतालका कर्मचारीहरूले बताएका छन् ।

मध्य गाजाको नुसिरात, जावैदा, मघाजी र देइर अल बलाहलगायत विभिन्न स्थानमा भएको आक्रमणमा एक दर्जनभन्दा बढी महिला र बालबालिकाको मृत्यु भएको अल अक्सा शहीद अस्पतालका कर्मचारीहरूले बताए ।

अघिल्लो दिन पनि यस क्षेत्रमा दर्जनौँ मानिस मारिएका थिए । यसले विगत २४ घन्टामा मृत्यु हुनेको सङ्ख्या ५६ पुर्‍याएको छ ।

इजरायली सेनाले पछिल्ला आक्रमणबारे तत्काल टिप्पणी गरेको छैन तर उसले लडकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गरेको छ ।

बिहीबार हमासका सुरक्षा अधिकारी र इजरायली घोषित मानवीय क्षेत्रमा आक्रमण भएको थियो ।

शुक्रबार बिहान मारिनेमध्ये स्वतन्त्र पत्रकार ओमार अल–देरावी पनि थिए । एसोसिएटेड प्रेसका पत्रकारहरूले साथीहरू र सहकर्मीहरूलाई अस्पतालमा उनको शवमा शोक मनाउँदै गरेको देखे । उनको कफनको माथि प्रेस भेस्ट राखिएको थियो ।

शुक्रबार बिहान इजरायलीहरू पनि आक्रमणको सामना गर्न बाध्य भए । इजरायलले यमनबाट देशभित्र क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ । क्षेप्यास्त्र प्रहार भएपछि जेरुसेलम र मध्य इजरायलमा हवाई सायरन बज्यो र मानिसहरूलाई आश्रयमा भाग्न बाध्य बनायो ।

तत्काल कुनै क्षति वा घाइतेको खबर आएको छैन । यद्यपि जेरुसेलममा क्षेप्यास्त्र वा इन्टरसेप्टरका कारण हल्का विस्फोट सुनिएको थियो । इजरायली सेनाले एउटा क्षेप्यास्त्र रोकेको जनाएको छ ।

आक्रमण भइरहेकै बेला शुक्रबार युद्धविराम वार्ताको प्रयास पुनः सुरु हुने अपेक्षा गरिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले मोसाद गुप्तचर एजेन्सी, सिन बेट आन्तरिक सुरक्षा एजेन्सी र सेनाको प्रतिनिधिमण्डललाई कतारमा वार्ता जारी राख्न अधिकार दिएको बताएको छ । प्रतिनिधिमण्डल शुक्रबार कतारका लागि प्रस्थान गर्दैछ ।

अमेरिकाको नेतृत्वमा भएका वार्ताहरू १५ महिने युद्धको अवधिमा पटक–पटक रोकिएका छन् । हमास नेतृत्वका लडाकूहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणबाट युद्ध सुरु भएको थियो ।

लडाकूहरूले अधिकांश सर्वसाधारण गरी करिब एक हजार दुई सय जनाको हत्या गरेका थिए र करिब २५० जनालाई अपहरण गरेका थिए । गाजामा अझै करिब १०० बन्धक छन् । तीमध्ये कम्तीमा एक तिहाइ मृत भएको विश्वास गरिएको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको जवाफी कारबाहीमा गाजामा ४५ हजार पाँच सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । यसमा आधाभन्दा बढी महिला र बालबालिका छन् । मन्त्रालयले आफ्नो तथ्याङ्कमा नागरिक र लडाकूबीच भिन्नता देखाउँदैन ।

हमासका लडाकूहरू घना आवासीय क्षेत्रमा काम गर्ने भएकाले इजरायली सेनाले आफूले लडाकूहरूलाई मात्र लक्षित गर्ने र नागरिक मृत्युको जिम्मेवारी हमासलाई दिने गर्छ । सेनाले प्रमाण नदिई १७ हजार लडाकू मारेको दाबी गरेको छ ।

युद्धले व्यापक विनाश गरेको छ र गाजाका २३ लाख जनसङ्ख्याको ९० प्रतिशतलाई विस्थापित गरेको छ । तीमध्ये धेरै एकभन्दा बढी पटक विस्थापित भएका छन् ।रासस, एपी

तपाईको प्रतिक्रिया