Online Bichar
मंगलबार, पौष २३, २०८१ | Tuesday, January 7, 2025

काठमाडौँ, १९ पुष २०८१ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारीहरूको आवधिक रुपमा सरुवा हुने व्यवस्था गर्नुपर्ने बताएका छन्। शुक्रवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले यस्तो बताएका हुन्।

उनले कर्मचारीहरूमा विषयगत विशेषज्ञताको विकास र सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्न आवधिक सरुवा प्रणालीको ल्याउन जरुरी रहेको बताए।

उनले सचिवको हकमा एक वर्ष, सहसचिवको दुई वर्ष, उपसचिवको तीन वर्ष, शाखा अधिकृतको चार वर्ष र अन्य कर्मचारीको पाँच वर्ष कम्तिमा पनि एउटै मन्त्रालय मातहतको निकायमा रहने सुनिश्चितता गरिनुपर्ने बताए।

उनले कर्मचारीतन्त्रलाई स्थायित्व दिन र सुशासन कायम गर्न कर्मचारीको आवधिक सरुवा प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने बताए।

उनले निजामती कर्मचारीको उमेरहद ६० वर्ष राख्न नहुने धारणा राखे। उनले एकैपटक ६० वर्षको उमेरहद लागू गर्दा बढुवाको नजिक रहेका कर्मचारीमा प्रतिकुल असर पर्ने र विश्वविद्यालयबाट नयाँ प्रवेश आकांक्षा राखेका उम्मेदवारहरूलाई समेत प्रतिकुल असर पर्ने भएकाले त्यसो गर्न नहुने बताए।

उनले लोकसेवाबाट लिइने परीक्षालाई पनि नियमित बनाउन जरुरी रहेको बताए। उनले प्रविधिको तीव्र विकास भइरहेको उल्लेख गर्दै अब एउटा परीक्षा दिनकै लागि युवासँग पर्खिने समय नरहेको टिप्पण्णी गरे।

 

तपाईको प्रतिक्रिया