Online Bichar
आइतबार, पौष २१, २०८१ | Sunday, January 5, 2025

काठमाडौँ, १५ पुष २०८१ । त्रिभुवन विश्वविद्यालय पुनः तालाबन्दीको सिकार बनेको छ । उपकुलपतिसहित नयाँ पदाधिकारी आएको केही समय तालाबन्दी मुक्त भएको त्रिविमा पुनः तालाबन्दी सुरु भएको हो ।

यति बेला त्रिविका विभिन्न विभाग तथा शाखाहरूमा एक सातादेखि तालाबन्दी छ । विभिन्न विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका हुन् । मेरिटोक्रेसीका आधारमा पदाधिकारी छनोट भए पनि दलीय गतिविधिले प्रशय पाएको हो । यसमा सत्तारूढ दल नेकपा एमाले निकट विद्यार्थी गठनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीसम्मले अवरोध थालेका छन् ।
उनीहरूले विभिन्न माग अघि सारेर विभिन्न विभाग तथा शाखाहरूमा धर्ना दिनेदेखि लिएर उपकुलपति कार्यालयको कार्यकक्ष बाहिर धर्ना दिने सम्मका काम गरेका छन् । अखिल क्रान्तिकारीसहित ५ विद्यार्थी संगठनले केन्द्रीय क्याम्पस प्रमुख ९प्रिन्सिपल० को कार्यालयसहित ४ निकायमा तालाबन्दी गरेको छ ।

त्यस्तै अनेरास्ववियु त्रिवि अध्यक्ष तथा स्ववियु सचिव सिद्धान्त भट्ट मङ्सिर १६ गतेदेखि उपकुलपतिको कार्यकक्ष बाहिर २४ घण्टे धर्नामा बसेका थिए । आइतबार अबेर त्रिवि र भट्टबिच सहमति भएको थियो । सहमतिपछि उनले धर्ना स्थगित गरेका थिए ।

प्रिन्सिपलको कार्यालयमा तालाबन्दी गरेपछि प्रिन्सिपल ध्यानेन्द्र राई गत सोमबारदेखि कार्यालय प्रवेश गरेका छैनन् । संयुक्त विद्यार्थी संगठनको तर्फबाट प्रिन्सिपल कार्यालय, रजिस्ट्रार कार्यालयको सामान्य प्रशासन महाशाखा र भौतिक विज्ञान विभागमा तालाबन्दी गरेका हुन् ।

अखिल क्रान्तिकारी त्रिवि पूर्व अध्यक्ष प्रदीप भट्टले नेपाल प्रिमियर लिग (एनपीएल) को पार्किङ शुल्क विवादको छानबिन गर्नुपर्ने लगायतका माग राखेर संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको बताए । अहिलेसम्म विश्वविद्यालयको तर्फबाट वार्ताका लागि कुनै पहल नभएको उनको भनाइ छ ।

त्यस्तै त्रिविका कर्मचारी समेत लामो समयदेखि आन्दोलनमा छन् । आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुनुपर्ने, निश्चित अवधिपछि स्वतः बढुवा हुनुपर्ने लगायतका माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले धर्ना, जुलुस, घेराउ, तालाबन्दी, प्रवेश रोकजस्ता आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

उनीहरूले गत मङ्सिर २७ गते आयोजित त्रिविको नीति अधिवेशनमा नाराजुलुस गरेका थिए ।

माओवादीनिकट अखिल क्रान्तिकारीसँगै एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियू, राष्ट्रिय जनमोर्चानिकट अखिल ९छैटौँ०, नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल समाजवादी र नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनले तालाबन्दी गरेका हुन् । उनीहरूले एनपीएल प्रतियोगितामा पार्किङ शुल्क उठाएको विषयमा छानबिन गर्नुपर्ने माग अघि सारेका हुन् । उनीहरूले क्याम्पस प्रमुख राईलाई क्याम्पस प्रवेशमा रोक लगाएका छन् ।

उनीहरूले प्रमुख राईलाई कार्यालय प्रवेशमा रोक लगाइएको भन्ने ब्यानर क्याम्पस गेटमै राखेका छन् । अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष भट्टले स्ववियुको नाममा अवैध रूपमा रकम उठाएको र त्यसमा छानबिन गर्नुपर्ने माग गरे । उक्त प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने, उठेको रकम सार्वजनिक र अवैध रूपमा रकम उठाउन संलग्न हुनेलाई कारबाही नभएसम्म विश्वविद्यालय प्रवेश गर्न नदिइने उनीहरूको चेतावनी छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको एनपीएलको पहिलो दिन स्ववियुका नाममा सवारी साधनबाट पार्किङ शुल्क उठाइएको थियो । उठेको शुल्क सार्वजनिक र छानबिन गर्नुपर्ने माग विद्यार्थी संगठनहरूले राख्दै आएका छन् । उनीहरूले स्ववियु अध्यक्ष श्यामराज ओझाले आफूनिकट विद्यार्थी परिचालन गरी शुल्क उठाएको आरोप लगाएका छन् ।

तर, अध्यक्ष ओझाले पार्किङ व्यवस्थित गर्नका लागि काम गरिएको तर, विवाद आएपछि छोडिएको बताए । एनपीएल प्रतियोगिता हेर्न आउने दर्शकहरूको सहजताका लागि, सवारी साधनको अव्यवस्थित पार्किङ तथा गाडीको असुरक्षाको मध्यनजर गर्दै, विश्वविद्यालयसँग सम्बन्धित प्राध्यापक, कर्मचारी, विद्यार्थीहरूले समेत सहज आवतजावत होस् भन्ने उद्देश्यले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको अग्रसरतामा पार्किङ स्थल बनाइएको सभापति ओझाको भनाई थियो ।

पार्किङ व्यवस्थापनलाई निःशुल्क बनाउन भनी सुझाव आएकाले पछि स्ववियुका साथीहरू र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको स्वयंसेवी भूमिका निर्वाह गरेर निःशुल्क पार्किङको व्यवस्था गरिएको बताए । सोही शुल्कका विषयमा सामान्य प्रशासन महाशाखा र स्ववियु कार्यालयमा समेत ताला लगाएका हुन् ।

अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले ज्ञापनपत्र बुझाएर माग राख्दा बेवास्ता गरिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । स्ववियुले शुल्क उठाएर लाखौं रकम हिनामिना गरेको र यसमा कुनै पनि निकायले छानबिन नगरेपछि छानबिनको माग गर्दै तालाबन्दी गरिएको उनको भनाइ छ ।

विद्यार्थीहरूले क्याम्पस प्रमुख राईलाई क्याम्पस प्रवेशमा रोक लगाए पनि उनी कार्यालय भने गइरहेका छन् ।

त्यस्तै भौतिक विज्ञान केन्द्रीय विभागमा समेत विद्यार्थीहरूले ताला लगाएका छन् । फेल भएका विद्यार्थीलाई शोधपत्रमा सहभागी हुन नदिएको भन्दै संयुक्त विद्यार्थी संगठनहरूले ताला लगाएका हुन् ।

स्ववियुका सचिव भट्टले विश्वविद्यालयको सुधारसहितका विभिन्न ३५ बुँदे माग अघि सारेर उपकुलपति प्राडा केशरजंग बरालको कार्यकक्षको ढोकाबाहिर धर्नामा बसेका थिए । उनी धर्नामा बसेपछि उपकुलपति बराल कार्यालय प्रवेश गरेका थिएनन् ।

उनीसँग वार्ता गर्नका लागि विज्ञान संकायका सहप्राध्यापक प्रमोद पौडेलको संयोजकत्वमा उपकुलपति कार्यालयले छानबिन समिति गठन गरेको थियो । तर, उक्त समितिसँग वार्तामा नबस्ने अडान लिएपछि प्रिन्सिपल राईको संयोजकत्वमा अर्को समिति गठन गरिएको थियो । उक्त समितिसँगको वार्तापछि सहमति गरेर भट्टले आइतबार रातिदेखि धर्ना स्थगित गरेका हुन् ।

रेक्टर प्राडा खड्क केसीले शिक्षक, कर्मचारी र विद्यार्थीले छुट्टाछुट्टै माग अघि सारेकाले वार्ता समितिमार्फत छलफल भइरहेको बताए । १र२ दिनमा सबै समस्या समाधान गर्ने गरी काम भइरहेको समेत बताए ।

 

तपाईको प्रतिक्रिया