Online Bichar
शनिबार, पौष २०, २०८१ | Saturday, January 4, 2025

काठमाडौं, १४ पुष २०८१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका थिए ।

अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्न भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका हुन् ।

यसका लागि डा. दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । समितिमा दीपकराज सापकोटा, डा। सुनिता मलेकु, डा। मेरिना श्रेष्ठ, डा। अरुण कुँवर सदस्य छन् । ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि सदस्य छन् भने मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।

समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषयमा सुझाव दिनेछ । अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ । समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरु तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

पछिल्लो जनगणना अनुसार नेपालमा अटिजम भएका व्यक्तिको संख्या चार हजार ८८४ छ । तर विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ ।

 

तपाईको प्रतिक्रिया