Online Bichar
शनिबार, पौष २०, २०८१ | Saturday, January 4, 2025

झापा, १४ पुष २०८१ । खुला सीमानाका हुँदै धान र चामल तस्करी पूर्ण रूपमा नियन्त्रण भएको छ । विराटनगरका राइस मिल उद्योगका अनुसार भारतले धानको निर्यात शुल्क हटाएपछि अवैध बाटोबाट आयात हुने धान–चामल आफैँ नियन्त्रणमा आएको हो ।

उद्योगीका अनुसार नेपालमा गत वर्षको यही सिजनमा चामलको मूल्य प्रतिकिलो १५ देखि २० रुपियाँले वृद्धि भएको थियो । त्यसबेला भारतले धान निर्यातमा २० प्रतिशत शुल्क लगाएको थियो । सरकारकै आग्रहमा भारतले गत कात्तिक ६ गतेदेखि निर्यात शुल्क हटाएपछि विराटनगरका उद्योगीले भारतबाट वैधानिक रूपमा धान आयात भइरहेको जानकारी दिएका छन् ।

विराटनगरमा चामलको थोक विक्रेता जितु बोथडाका अनुसार गत वर्ष २० प्रतिशत निर्यात शुल्क जोडेर धान आयात गर्दा चामल महँगो थियो । सीमापारि बजार पुगेर ल्याउँदा एक सय केजीमा करिब आठ सय रुपियाँ बच्थ्यो । उपभोक्तासमेत सस्तोमा चामल खोज्दै भारतीय बजार पुग्थे । त्यति मात्रै नभई अवैध रूपमा चामल र धान भित्र्याउने सङ्गठित समूह नै सक्रिय बनेको थियो ।

गत वर्षको हिउँदेमा र अहिले विराटनगरमा सीमापार जोगबनीभन्दा छ रुपियाँ मात्रै चामल महँगो छ । न्यून अन्तरका कारण जोगबनी पुग्नुभन्दा विराटनगरमै खरिद गर्दा ढुवानी खर्चले बराबरी हुने उपभोक्ताको बुझाइ छ । स्वस्तिक राइस मिलका सञ्चालक राजु राठीले २५ किलोको प्याकमा हाल सोना मनसुली चामलको फ्याक्ट्री मूल्य एक हजार पाँच सय, कान्छी मनसुलीको एक हजार ४५०, जिरा मसिनोको दुई हजार ५० र रञ्जित चामलको एक हजार ६५० रहेको जानकारी दिए । यो हुँदा नेपाली उपभोक्तालाई नेपालकै उत्पादनले मूल्यमा राहत मिलिरहेको छ ।

 

तपाईको प्रतिक्रिया