Online Bichar
शनिबार, पौष २०, २०८१ | Saturday, January 4, 2025

बिर्तामोड, १४ पुष २०८१ । निक्षेपकर्ताहरुको रकम फिर्ता गर्न नसकेर झापाका केही सहकारीहरु अप्ठ्यारोमा परिरहेका बेला बिर्तामोडको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले शेयर पुँजीको १२.६ प्रतिशत लाभांश बितरण गरेको छ । जुन झापा जिल्लाकै सबैभन्दा बढी हो ।

लक्ष्मी बहुउद्देश्यीय सहकारीले गत वर्ष १२.१७ प्रतिशत लाभांश वितरण गरेकोमा यस वर्ष बढाएर १२.६० प्रतिशत पुर्याएको हो । यसरी सबैभन्दा धेरै लाभांश बितरण गरेको लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बारेमा २८ औं वार्षिक साधारण सभाका सहभागी वक्ताहरुले प्रशंसा गरेका छन् । उनीहरुले करिव तीन दशकदेखि आफ्नै गतिमा संचालन भइरहेको लक्ष्मी बहुउद्देश्यीय सहकारीलाई नहौसिन सुझाव दिएका छन् । लक्ष्मी बहुउद्देश्यीय सहकारी बिर्तामोडभरिमा उत्कृष्ट मात्र नभएर नमूना भएको उनीहरुको भनाई थियो ।

संस्थाका अध्यक्ष लिलाबहादुर बस्नेतको अध्यक्षतामा भएको साधारण सभालाई पूर्व अध्यक्ष चन्द्रकुमार राजभण्डारीले उद्घाटन गरेका थिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका पूर्व सहकारी अधिकृत डिल्ली दाहाल , सहकारीका संस्थापक सचिव एवं पूर्व अध्यक्ष डा। रुपक खनाल , सप्तकोशी डेभलपमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल , जिल्ला सहकारी संघका सदस्य तथा स्वरोजगार भवानी साकोसका अध्यक्ष केशब बस्नेत ,कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाले आर्थिक वर्ष २०८०–०८१ मा १ करोड ४ लाख ५३ हजार ५८४ रुपैयाँ मुनाफा कमाएको छ । त्यसलाई अर्को वर्ष बढाएर १ करोड ९४ लाख ५० हजार रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । त्यस्तै संस्थाको शेयर पुँजी ३ करोड २२ लाख ६२ हजार २०० रुपैयाँ रहेकोमा त्यसलाई अर्को वर्ष बढाएर ४ करोड पुर्याउने लक्ष्य राखिएको संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै कुल निक्षेप ३५ करोड ४८ लाख ९८ हजार ५९४ रुपैयाँ रहेकोमा त्यसलाई बढाएर ४५ करोड पुर्याउने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले बताए । कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरु प्रयत्न शाक्य,चरणसिंह राजवंशी , भिमबहादुर लिङ्देन , गोपालकृष्ण अग्रवाल , दाताराम मैनाली , सरोज अधिकारी , सुनिल खरेल , गीतादेवी ढकाल ,ऋणीतर्फ सुजता बुढाथोकी , अम्बिका तामाङ, भिम खरेल , टिकप्रसाद मिश्र र मित्रकुमार मगरलाई नगदसहित सम्मान गरिएको थियो । सहकारीका उपाध्यक्ष भगिरथ पोद्धारले स्वागत गरेको कार्यक्रमको संचालन लेखा समिति संयोजक रोशन दाहालले गरेका थिए । कूल ४ हजार ३६० जना शेयर सदस्य रहेको संस्थाले धितोमा मात्र कर्जा लगानी गर्ने गरेको व्यवस्थापक पुण्यप्रसाद अधिकारीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया