काठमाडौं, १० पुष २०८१ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ९ मा मात्र विद्यार्थीको रजिस्ट्रेशन फारम भर्ने र आगामी वर्षदेखि शुल्क नउठाउने निर्णय गरेको छ । यसअघि कक्षा ९ र ११ मा दुई पटक रजिस्ट्रेशन फारम भर्ने र शुल्क पनि उठाउने गरिएको थियो ।
‘अब रजिस्ट्रेशन ९ कक्षामा मात्र हुन्छ । ११ मा नगर्ने निर्णय भएको छ । राजश्व मिनाहाका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेका छौँ,’ कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले अनलाइनखबरसँग भने ।
यो वर्ष भने रजिस्ट्रेशन फारमको प्रक्रिया अगाडि बढेकाले शुल्क उठाइने उनले बताए । ‘यो वर्ष समय घर्किएकाले अर्कोवर्षबाट गर्ने भनिएको हो,’ नियन्त्रक पौडेलले भने ।
शिक्षामन्त्री विद्या भट्टराईले यो वर्ष नै निःशुल्क गर्न भनेकी थिइन् । तर प्रक्रिया अगाडि बढेकाले निःशुल्क गर्न नसकिएको बोर्डको भनाइ छ ।
मन्त्री भट्टराईले पनि यो वर्ष सम्भव नभए अर्को वर्ष शुल्क नउठाउने सुनिश्चितता गर्न निर्देशन दिएकी थिइन् । सोही अनुसार बोर्डले निर्णय गरेको हो ।
शुल्कको विषयमा निर्णय नहुँदा कक्षा ९ को रजिस्ट्रेशन फारम भर्न बिलम्व भएको थियो । अब केही दिनमै राजिस्ट्रेशन फारम खोल्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।
कक्षा ९ मा करिब ५ लाख विद्यार्थीले रजिस्ट्रेशन फारम भर्ने छन् । रजिस्ट्रेशनबाट ९ कक्षामा वर्षेनी ५० करोड राजश्व संकलन हुने गरेको थियो ।
शिक्षा मन्त्री भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क उठाउन नहुने बताउँदै आएकी थिइन् ।