Online Bichar
आइतबार, पौष ०७, २०८१ | Sunday, December 22, 2024

झापा, ५ पुष २०८१ । अब नेपाली जुत्तामा पनि गुणस्तर चिह्न ’एनएस’ कायम हुने भएको छ। यस अन्तर्गत पहिलो चरणमा ’स्पोर्ट्स’ जुत्तामा एनएस (ल्क्) दिन थालिएको नेपाल नापतौल तथा गुणस्तर विभागले जनाएको छ।

नेपालमा निजी क्षेत्रको उपस्थितिमा चार दशक लामो समयदेखि व्यावसायिक जुत्ता उत्पादन भइरहेको छ। यसअघि कुनै पनि जुत्ता उद्योगले गुणस्तर चिह्न लिएका थिएनन्। अहिले उद्योगीहरूकै पहलमा विभागले गुणस्तर चिह्न दिन थालेको हो।

’पछिल्ला वर्षहरूमा उपभोक्ताले गुणस्तर चिह्न छ कि छैन भनेर खोज्न थालेका छन्। बजारीकरण र उपभोक्ताको विश्वास बढाउन उत्पादकहरू आफैले गुणस्तर चिह्न मागिरहेका छन्,’ विभागका उपमहानिर्देशक प्रभातकुमार सिंहले भने, ’हामी स्पोर्टस् जुत्ताबाट यो काम सुरू गर्दैछौं।’

अहिलेसम्म यहीँ उत्पादन हुने मात्र होइन, आयात हुने धेरै वस्तुको पनि नेपालको गुणस्तर चिह्नबिना नै कारोबार भइरहेको छ। विभागले हालसम्म ७० वटा उत्पादनलाई मात्रै गुणस्तर चिह्न दिएको छ। यसको अर्थ, यीबाहेकका उत्पादन गुणस्तरहीन हुन् भन्ने चाहिँ होइन।

यीमध्ये १७ वटा उत्पादनलाई विभागले आफै अनिवार्य मानेर गुणस्तर चिह्न कायम गराएको छ। बाँकी अरू उत्पादककै पहलमा चिह्न कायम भएका हुन्।

व्यवसायी र सरकारी अधिकारीहरूका अनुसार एनएस चिह्नले मुख्यतया दुइटा अर्थ राख्छ।
एउटा, उद्योगहरू नियमनमा बस्नुपर्ने हुन्छ। अर्थात, चिह्न लिने क्रममा उद्योगले जनाएको प्रतिबद्धता अनुसार वस्तुको गुणस्तर कायम गर्नुपर्छ। अब एनएस पाएका जुत्ताको हकमा पनि यही नियम लागू हुन्छ।

उद्योगहरूले जनाउनुपर्ने मुख्य प्रतिबद्धतामध्ये एउटा हो, विभागले तोकेको नेपाल गुणस्तर मापदण्ड पालना गरी उत्पादन र बिक्री वितरण गर्ने। यस क्रममा उद्योग स्वयंले उत्पादन प्रक्रिया, गुणस्तर व्यवस्थापकीय प्रणाली, उत्पादन तथा परीक्षण मेसिनरीको विषयमा विभागलाई जानकारी गराउनुपर्छ। सोही अनुसार पालना भयो कि भएन भनेर हेरिन्छ।

त्यस्तै विभागले इजाजत दिएको ब्रान्ड, आकार र सिरिज (शृंखला) मा मात्र चिह्न प्रयोग गर्ने प्रतिबद्धता उत्पादकले गर्नुपर्छ। विभागले गर्न निरीक्षण, वस्तु परीक्षणमा सहयोग र गुणस्तर निर्देशिका अनुरूप काम गर्ने पनि प्रतिबद्धता जनाउनुपर्छ। चिह्न भएको उत्पादनमा उजुरी वा गुनासो भएमा विभागले गरेको जाँच र छानबिनमा सहयोग गर्नुपर्छ। गुणस्तर सम्बन्धी कामका लागि उत्पादकले विशेष व्यक्ति नै राख्नुपर्छ।

अर्को अर्थ, यस्तो चिह्न पाएपछि सो वस्तुमा उपभोक्ताले विश्वास गर्ने आधार बलियो बन्छ। विश्वास नलागेको खण्डमा विभागमै उजुरी हाल्न सकिन्छ।

नेपाली जुत्तामा एनएस चिह्न भएपछि आयातीत जुत्ताको गुणस्तर कायम गर्न समेत सहज हुने नेपाल जुत्ता उत्पादक संघका अध्यक्ष रूद्र न्यौपाने बताउँछन्।

’हाम्रा जुत्तामा एनएस भएपछि आयातीतमा पनि कायम गर भन्ने अधिकार हुन्छ। अवैध आयात रोक्न पनि सहयोग पुग्छ,’ उनले भने।

गत भदौदेखि विभागले जुत्तालाई गुणस्तर चिह्न दिने तयारी थालेको थियो। अहिलेसम्म एउटा उद्योगले गुणस्तर चिह्न माग गरेको विभागले जनाएको छ। अन्य उद्योग पनि चिह्न लिने तयारीमा छन्।

अहिले स्वदेशी उद्योगले जुत्ता बजारको ८० प्रतिशतभन्दा बढी माग धानिरहेका छन्। केही उद्योगले भारत र तेस्रो मुलुकमा पनि निर्यात गरेका छन्। खासगरी दुइटा उद्योगस गोल्डस्टार र म्याजिकले भारतमा धेरै निर्यात गरेका छन्। यी ब्रान्डका जुत्ताले भारतीय बजारमा विशेष पहिचान बनाएको उनीहरूको दाबी छ।

अरू उद्योगले पनि भारतमा जुत्ता निर्यात गर्ने योजना बनाएका छन्। एनएस चिह्न भएपछि निर्यातका लागि नयाँ अवसर खोलिने व्यवसायीहरू बताउँछन्।

विशेषगरी भारतजस्ता देशमा निर्यात गर्न गुणस्तर चिह्न चाहिन्छ। त्यस्तै भारतले आयातीत जुत्तामा भारतीय गुणस्तर चिह्न ’बिआइएस’ लागू गर्ने तयारी गरेको छ। यो नियम लागू भए, भारतमा निर्यात गर्नुअघि भारतीय गुणस्तर हेर्ने निकायबाट चिह्न प्राप्त गर्नुपर्ने हुन्छ। अहिले सिमेन्ट, डन्डी लगायत उत्पादनमा यो व्यवस्था लागू भएको छ। एनएस भएपछि भारतीय गुणस्तर चिह्न लिने प्रक्रियामा सहयोग पुग्छ। अन्तर्राष्ट्रिय बजारको विश्वास बढाउन पनि सहज हुनेछ।

’जुत्तामा गुणस्तर चिह्न कायम हुनुपर्छ भन्ने माग हामी उत्पादककै हो। यसले उत्पादक र उपभोक्ताबीचको सम्बन्ध बलियो बनाउँछ,’ नेपाल जुत्ता उत्पादक संघका अध्यक्ष न्यौपानेले भने।

हाल नेपालमा १५ सय वटाभन्दा बढी जुत्ता–चप्पल उद्योग छन्। यीमध्ये ६ वटा ठूला उद्योग हुन् भने मध्यम स्तरका २० वटाभन्दा बढी छन्। तीन सय वटा साना र १२ सय वटा लघु उद्योग छन्।

नेपाल जुत्ता उत्पादक संघका अनुसार यी सबैमा ४० अर्ब रूपैयाँभन्दा धेरै लगानी छ। यिनको वार्षिक क्षमता करिब १६ करोड जोडी जुत्ता–चप्पल उत्पादन गर्ने छ। अहिले सालाखाला सात करोड जोडी मात्रै उत्पादन हुन्छ। हालको कुल बजार माग वार्षिक साढे १० करोड जोडी छ। क्षमताअनुसार चल्ने हो भने स्वदेशी उद्योगले यो माग सहजै धानेर निर्यात समेत गर्न सक्ने संघको भनाइ छ।

एनएस चिह्न भए विश्व बजारमा ब्रान्डिङ गर्न सहयोग पुग्ने र निर्यात बढाएर पूर्ण क्षमतामा उद्योग चलाउन सकिने व्यवसायीहरूको विश्वास छ।

 

तपाईको प्रतिक्रिया