Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

झापा, २८ मंसिर २०८१ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भोलिदेखि झापा कप नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । बिहीबार सार्वजनिक गरिएको खेल तालिका अनुसार झापा कपको उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी क्लब र मोरङको एलएक्स सीआइटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

झापा–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लब, मोरङको एलएक्स सिटी फुटबल क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च व्वाईज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् ।

यसैगरी दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियनसमेत रहेको चित्लाङ फुटबल क्लब, त्रिभुवन आर्मी क्लब र रुपन्देहीको गोर्खा ब्वाईज स्पोर्ट्स क्लब सहभागी हुने भएका छन् । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुने छ । प्रतियोगिताका लागि १० हजार जना दर्शक क्षमताको बेम्बो प्याराफिट निर्माण, खेलमैदान मर्मतलगायतका काम पूरा भएको आयोजक झापा–११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका संयोजक केशवराज दाहालले जानकारी दिए । प्रत्येक खेलको प्लेयर अब द म्याचले १० हजार नगद तथा प्रतियोगिताको अवधिमा सर्वाधिक गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिपर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिने छ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मष्ट भ्यालु्एबल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने झापा–११ का अध्यक्ष गुरुङले बताए । प्रतियोगिताका संयोजक दाहालको अध्यक्षतामा भएको खेल तालिका सार्वजनिक कार्यक्रममा झापा गोल्डकप अध्यक्ष अध्यक्ष विनोद बस्नेत, झापा कपका सल्लाहकार सन्तोष थोप्रा, खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष इन्द्रजीत मुखियालगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन सचिव चेतामणि खनालले गरेका थिए ।

तपाईको प्रतिक्रिया