Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

झापा, २६ मंसिर २०८१ । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्ष पदका लागि चारजनाले उम्मेद्वारी दिएका छन् ।

अध्यक्ष पदका लागि एकराज गिरी , डिकेश लामा , राजेन्द्र गौतम र टीकाराम नेतीले उम्मेद्वारी दिएका हुन् । आज भएको मनोनयन दर्तामा दुईवटा प्यानलसंगै अन्य दुईजनाको अध्यक्षमा उम्मेद्वारी परेको हो । सत्तापक्षीय गठबन्धनका तर्फबाट एकराज गिरी र प्रतिपक्षका तर्फबाट डिकेश लामाले उम्मेद्वारी दिएका छन् । सत्तारुढ नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमालेनिकट प्रेस चौतारीको संयुक्त गठबन्धनका तर्फबाट गिरी दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेद्वार बनेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरको नेतृत्वमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज ,एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठन,स्वतन्त्र पत्रकार समूहलगायतको अर्को प्यानल बनेको हो । जुन प्यानलबाट लामाले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । लामा वर्तमान कार्यसमितिका सचिव हुन् । गौतम र नेतीले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको बताइएको छ । झापा शाखाको २० सदस्यीय कार्यसमितिका ३३ जनाले उम्मेद्वारी दिएका छन् भने १५ जना प्रदेश परिषद सदस्यका लागि १३ जनाको मात्र उम्मेद्वारी परेको छ । त्यस्तै ४ जना केन्द्रीय परिषद सदस्यका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् ।

निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको नामावली अनुसार उपाध्यक्षमा गणेशमान मुखिया र सुब्रत न्यौपाने , महिला उपाध्यक्षमा विनिशा गौतम , सुशीला संग्रौला र सुनिरा मैनाली , सचिवमा राजु पाठक र प्रदिप परियार , सहसचिवमा नरेन्द्रकुमार ढकाल र रमेश तिवारी , सहसचिव समावेशीमा चिरञ्जीवी घिमिरे र तिलक तामाङ योञ्जन तथा कोषाध्यक्षमा पुष्पलाल खड्का , शम्भुजीत दाहाल र मुक्तिनाथ पौडेलले उम्मेद्वारी दिएका छन् । १५ जना प्रदेश परिषद सदस्यका लागि १३ जनाले मात्र उम्मेद्वारी दिएकोमा सबैजना निर्विरोध भएका छन् ।

पर्सी मंसिर २८ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता भएको हो । पत्रकार महासंघको बिर्तामोडस्थित कार्यालयमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । पत्रकार महासंघ झापा शाखामा २२० जना सदस्य रहेका छन् ।

 

तपाईको प्रतिक्रिया