Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

झापा, २६ मंसिर २०८१ । नेपाल पत्रकार महासंघ झापा शाखाको नयाँ नेतृत्वको लागि दुईवटा प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ ।

सत्तापक्षीय र प्रतिपक्षीय दलनिकट पत्रकारहरुबीच नेतृत्वको लागि प्रतिष्पर्धा हुने भएको हो । सत्तापक्षीय गठबन्धनका तर्फबाट एकराज गिरी र प्रतिपक्षका तर्फबाट डिकेश लामाले उम्मेद्वारी दिने भएका छन् । सत्तारुढ नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमालेनिकट प्रेस चौतारीको संयुक्त गठबन्धनका तर्फबाट गिरी दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेद्वार बन्न लागेका छन् । उनको प्यानलका तर्फबाट उपाध्यक्षमा सुब्रत न्यौपाने (प्रेस चौतारी),महिला उपाध्यक्षमा सुशिला संग्रौला (प्रेस युनियन), सचिव प्रदीप परियार (प्रेस चौतारी), सहसचिव रमेश तिवारी (प्रेस चौतारी) उठ्ने भएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट प्रेस सेन्टरको नेतृत्वमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज ,एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठन,स्वतन्त्र पत्रकार समूहलगायतको अर्को प्यानल बनेको हो । जुन प्यानलबाट लामाले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा गणेशमान मुखिया , महिला उपाध्यक्षमा विनिशा शर्मा, सचिव राजु पाठक , सहसचिव नरेन्द्र ढकाल र कोषाध्यक्षमा पुष्प खड्का उठ्ने भएका छन् ।

पर्सी मंसिर २८ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता रहेको छ । पत्रकार महासंघको बिर्तामोडस्थित कार्यालयमा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघ झापा शाखामा २२० जना सदस्य रहेका छन् ।

 

तपाईको प्रतिक्रिया