Online Bichar
शुक्रबार, पौष १२, २०८१ | Friday, December 27, 2024

झापा, १३ मंसिर २०८१ । झापाको सताक्षीधाममा धार्मिक पर्यटक लोभ्याउन नेपालमै पहिलो पटक सवा करोड रुद्राक्ष दानाजडित ५१ फिट शिवलिङ्ग निर्माण भएको छ।

यो शिवलिङ्गलाई स्थानीय धार्मिक व्यक्तिले ऐतिहासिक शिवलिङ्ग मान्न थालेका छन्। गोलोक गोवर्धन गौशालाले यो शिवलिङ्ग निर्माण गरेको हो। नेपालका ५१ वटा जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, गान्तोकलगायतका ठाउँबाट रुद्राक्ष सङ्कलन भएको गोवर्धन गौशालाले जनाएको छ। योसँगै भारतकै मणिपुर र आसाम राज्यबाट पनि रुद्राक्ष सङ्कलन भएको छ । गौशालाका अनुसार भुटान, बर्मालगायतका मुलुकबाट पनि रुद्राक्ष संकलन भएर आएको थियो ।

गएको असार ३ गते अर्थात् असारको निर्जला एकादशीका दिनदेखि निर्माण सुरु भएको यो शिवलिङ्ग १५१ दिनमै निर्माण भइसकेको बताइएको छ । गौशालाका अनुसार मङ्सिर १७ गते यो शिवलिङ्गको भव्य धार्मिक सभाका बीच उद्घाटन हुनेछ । उद्घाटनका लागि नेपाल भारतलगायत अन्य मुलुकका सयौँ धार्मिक व्यक्तित्वको सताक्षीधाम क्षेत्रमा आवागमन हुन थालेको छ।
गौशालाले दिएको जानकारी अनुसार सताक्षीधाम परिसरमा निर्माण भएको ऐतिहासिक शिवलिङ्गको चतरा धामका पिठाधिपति बालसन्त मोहनशरण देवाचार्यजी महाराजले अनावरण गर्ने कार्यक्रम छ।

गौशालाले निर्माण गरेको यो शिवलिङ्गको करिब ९० प्रतिशत निर्माण भइसकेको गौ संरक्षण अभियानका अभियन्ता घनश्याम खनाल शास्त्रीले बताए । उनका अनुसार यो शिवलिङ्गको विशेषता अनेकौँ छ । उनले भने, ‘५१ फिट अल्गो, ५१ वटा नेपालका जिल्लाबाट सङ्कलन गरिएको, १५१ दिनमा निर्माण भइसक्ने, ५१ ब्राह्मणद्वारा पञ्चकुण्डीय कोटी होममा नौ दिन हवन गर्ने र गोलोक गोवर्धन गौशालाको लिङ्ग महापुराणमा निर्माणाधीन शिवलिङ्गको उत्सवभरि प्रत्येक दिन ५१ जना ब्राह्मणद्वारा मूल पूजापाठ हुने छ ।’ यस कारणले पनि यसको विविध पक्ष र ऐतिहासिक महत्त्व भएको उनले बताए ।

गौशालाका अनुसार नेपालका जिल्लाबाट सङ्कलन गरिएका रुद्राक्ष खरिद गरिएका हुन् भने भारत लगायत अन्य मुलुकबाट आएका रुद्राक्ष गौशालाले सौजन्य प्राप्त गरेको हो। फलामको पातालाई बङ्ग्याएर ५१ फिट अल्गो फ्रेम बनाइएको छ। त्यो फ्रेमलाई रुद्राक्षको मालाले छोपिएको छ । हेर्दा निकै आकर्षक देखिन्छ । यो शिवलिङ्ग नेपालमै पहिलोपटक निर्माण भएको हो।

श्री गोलोके गोवर्धन गौशाला सताक्षीधाममा निर्माण भएको गोरक्षा महोत्सव २०८१ विशेष आकर्षण रुद्राक्ष नै रुद्राक्षको शिवलिङ्ग निर्माण गर्न सकेकोमा आफूलाई गर्व लागेको गौशालाका संरक्षकसमेत रहेका आचार्य नन्दकिशोर भारद्वाज महाराजले बताए। ’शिवलिङ्ग निर्माणमा गौशालाको १७ लाख २० हजार १ सय ५ रुपैयाँ खर्च भएको छ ’ गौशालाका अध्यक्ष नन्दकिशोरजी महाराजले भने ।

यो शिवलिङ्ग सरकारको योजनामा रहेको पर्यटन वर्ष २०८२ का लागि पनि निकै आकर्षक मानिने बताइएको छ। सरकारको घुम्न योग्य धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम पर्छ वा पर्दैन तर गौशालाले निर्माण गरेको यो शिवलिङ्ग ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने सताक्षीधाम मन्दिर तथा धार्मिक पर्यटकीय विकास संस्थाका उपाध्यक्ष उदय प्रकाश राईले बताए ।

 

तपाईको प्रतिक्रिया