झापा, २५ कार्तिक २०८१ । झापाको गौरादहमा आफ्नै गोरुले हानेर घाइते भएका कृष्ण शर्माकोे मृत्यु भएको छ । गौरादह नगरपालिका-७ जामबारी का ४८ वर्षिय कृष्ण शर्माको गोरुले हानेर उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबार(हिँजो)अन्दाजी ५ः४५ बजेको समयमा शर्माले बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त घट्ना भएको थियो । गोरुले हानेर घाइते भएका शर्मालाई उपचारको लागी आफन्तले लाईफ लाईन अस्पताल दमक ल्याई उपचार गराउँदा उनको ढाडको करंग ७ वटा भाचिएकोले थप उपचारको लागी नोबेल अस्पताला बिराटनगर रेफर भएकोमा आज दिउँसो ४ः२० बजेको समयमा शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही गोरुलाई समाउने क्रममा सोही ठाउँका छिमेकी अन्दाजी ४५ वर्षि रविन राजवंशी समेतको टाउकोमा समान्य चोट लागी अस्पतालमा उपचार गराइरहेको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।